देशका ठूला पूर्वाधार विकासमा राष्ट्रिय स्वार्थमात्रै हेरौं : डा. निश्चलनाथ पाण्डे


काठमाडौं, ३० साउन । सेन्टर फर साउथ एशियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डेले नेपालमा चिनियाँ सहयोग र नेपालको विदेश नीतिबारे विद्धत प्रवचन दिएका छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको द्वन्द्व, शान्ति र विकास अध्ययन (सिपिडिएस) द्वारा आज आयोजित कार्यक्रममा डा. पाण्डेले चीनको अनुदान सहयोगमा नेपालमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन, ट्रली बस, सिभिल अस्पतालको चर्चा गर्दै ती परियोजनाले नेपालको विकासमा सकारात्मक योगदान पुगेको स्मरण गराए ।

तर, पछिल्लो समय नेपालमा चिनियाँ परियोजनाहरु अत्यन्तै ठूलो विवादमा पर्न थालेको पनि उनले चर्चा गरे । नेपालका सिमित नेताहरुको आफ्नो व्यक्तिगत स्वार्थ र उनीहरुको निर्वाचन क्षेत्रमा विकास परियोजना केन्द्रित गर्न थालेकोले चिनियाँ परियोजनाहरु विवादमा परेको उनको तर्क छ । सरकारमा नभएका दलहरुले पनि कतिपय परियोजनाको विरोध गर्ने गरेको र त्यसले पनि चिनियाँ परियोजना विवादमा पार्ने काम गरेको पाण्डेको तर्क छ ।

काठमाडौंको २७ किलोमिटर लामो चक्रपथ निर्माणको उदाहरण दिँदै काटेश्वरदेखि बल्खुसम्मको निर्माण कार्यमा अत्यन्तै ढिलाई भएको र त्यसको कारणमा सुरक्षाको दृष्टि र जग्गा विवाद भनिएको पनि उनले स्मरण गराए । उनले नेपालले पूरा देशको राष्ट्रिय स्वार्थलाई ध्यानमा राख्नुपर्नेमा जोड दिए । उनले अब ठूला पूर्वाधार विकास निर्माणको सवालमा क्षेत्रियताभन्दापनि राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्नुपर्ने सुझाव दिए ।