काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध रहेको बताएका छन् । उनले दुई देशबीच खुला सिमाना रहेको र बिना परिचयपत्र आवातजावात भैरहेको भन्दै उनले नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध रहेको बताए ।
भारतसँग धेरैखाले सम्बन्ध भएकै कारण बेलाबखत केही समस्यापनि देखिएको उनको भनाई छ । भएका समस्याहरु समाधानको लागि दुई देशका सरकारी संयन्त्रहरुले गम्भीर रुपमा काम गर्नुपर्ने उनको सुझाव छ । आज (शनिबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले दुई देशबीच जनस्तरको सम्बन्धलाई पनि मजबुद बनाउनुपर्ने बताए ।
उनले भारत विकसित भएको भन्दै त्यहीअनुसार नेपालले लाभ लिनसक्नुपर्ने बताए । भारतबाट लगानी भित्र्याउनको लागि नेपालले पहल गर्नुपर्ने महतको भनाई छ । उनले भने,‘भारतीय लगानीमा नेपालमा उत्पादित विजुली भारत निर्यात गर्न सजिलो हुन्छ । लगानी पनि ल्याउने र भारतसँग विजुली निर्यात गर्ने सम्झौता पनि गर्ने, यहाँ विजुली उत्पादन बढ्ने र बजारमा समस्या नहुने सुनिश्चित्ता बढाउनुपर्छ । नेपालीहरुको लगानी पनि बढिरहेको छ । आन्तरिक माग पूर्ति गरेर भारत र बंगलादेशपनि निर्यात गर्ने हुनुपर्छ । यसको लागि ठूलो लगानी गर्नुपर्छ । चीनको लगानीमा उत्पादित विजुली भारतसँग निर्यात गर्न कठिन छ ।’
सम्भाव्य क्षेत्रमा बढिभन्दा बढि लगानी ल्याउनको लागि प्रोत्साहन गरिनुपर्ने र त्यसको लागि लगानीसम्बन्धी कानूनमा सुधार गरिएको महतको दाबी छ । भारत नजिकको मित्र र धेरैखाले सहज सम्बन्ध भएकोले भारतको लगानीलाई प्रोत्साहन गर्नुपर्ने महतको भनाई छ । उनले भारतले हिजो मनाएको ७९औं स्वतन्त्रता दिवस मनाएको भन्दै शुभकामना दिए ।
उनले भारतले आर्थिक प्रगति हाँसिल गरेको र लोकतन्त्रलाई बलियो बनाएको स्मरण गराए । भारतले नरेन्द्र मोदीको नेतृत्वमा थप प्रगति हाँसिल गरेको भन्दै त्यसका राम्रा पक्षलाई सिक्नुपर्ने महतको सुझाव छ । उनले नेपाल र भारतबीच सम्बन्ध अझै राम्रो हुनुपर्ने बताए । उनले द्धिपक्षीय हितको लागि अप्ठ्याराहरु फुकाउनुपर्ने मत राखे । भारतसँग नेपाल ठोस रुपमा प्रस्तुत हुनुपर्ने उनको सुझाव छ । file photo




प्रतिक्रिया