प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणबारे उपेन्द्र यादवको टिप्पणी : अयोध्या गए हुन्थ्यो, बोधगयामा बोलाउनुको पनि सांकेतिक अर्थ छ (भिडिओ सहित)


काठमाडौं, ३१ साउन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणबारे आफूले पनि सुनेको बताएका छन् । भारतले बिहारको बोधगयामा बोलायो नि ? नभनेर नेपाली रेडियो नेटवर्कको लागि पत्रकार ऋषि धमलाको प्रश्नमा उनले भने,‘प्रधानमन्त्रीको भारत भ्रमण हुने सुनेको छ । अयोध्या चाहीँ गए हुन्थ्यो । कहाँ अयोध्या छ भन्ने थाहा हुन्थ्यो नि त, चितवनमा अयोध्या हो कि अयोध्यामा अयोध्या हो भन्ने कुरा त थाहा हुन्थ्यो नि । बोधगयामा बोलाउनुको सांकेतिक अर्थ छ । बुद्ध भनेको ज्ञान हो । नलेज हो । बोधगयामा ज्ञानप्राप्त र नलेज प्राप्त होस भन्ने सांकेतिक अर्थपनि हुन्छ ।’

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका अध्यक्ष यादवले भारतले ७९ वर्षमा धेरै उल्लेख्य प्रगति र उपलब्धि हाँसिल गरेको दाबी गरे । उनले भने,‘एउटा पिछडिएको देश आज संसारकै शक्तिशाली अर्थतन्त्रको रुपमा उदय भएको छ । त्यसको लागि भारतीय प्रधानमन्त्री र त्यहाँका जनता सबैलाई शुभकामना र बधाई दिन चाहन्छु । भारतले उन्नति गर्यो, अझै उन्नति गरोस । भारत समृद्ध, खुशियाली जनताको देश बनोस ।’

उनले सरकारले गरेका गलत कार्यको विरुद्धमा आफ्नो दल रहेको बताए । यादवले अहिले नेपालमा नाम मात्रैको संघीयता रहेको बताए । अहिलेको संघीयतामा व्यापक सुधारको आवश्यकत्ता पनि उनले औंल्याए । संघीयता नेपालको लागि आवश्यकत्ता हो भन्ने यादवको भनाई छ ।