काठमाडौं, ३१ साउन । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले भ्रष्टाचार मौलाएकै कारण नेपालको प्रगति नभएको दाबी गरेका छन् । उनले भने,‘नेपाल प्रगति नहुनु नम्बर एक कारण नै भ्रष्टाचार हो । दोस्रो भनेको दण्डहिनता छ । देशमा मृत्युदण्डको अभाव छ ।’
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले देश बनाउनको लागि अहिलेका तीन जना नेताहरू वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई राजनीतिबाट विदा गरिनुपर्ने मत राखे । उनले नेपालको विकास नेपालीले नै गर्नुपर्ने भन्दै विदेशीहरुको मुख ताक्न नहुने सुझाव दिए ।
उनले प्रमुख तीन दलका नेतृत्वलाई राक्षसको संज्ञा दिए । उनले भने,‘अहिलेका तीन टाउके मन्स्टर भए । मुलुकको लागि यिनीहरु भार भैसके । अब नेपाल राष्ट्रले तीन टाउके मन्स्टर धान्न सक्दैन । यिनीहरुबाट मुलुकको मुक्ति हुनुपर्छ । ००७ सालदेखि जे जति आन्दोलन भए ती सबै सम्झौतामा टुँगोमा पुगेको हो । यिनीहरुले पूरानो रक्सी नयाँ बोटलमा हालेर पस्किए ।’
दीक्षितले अहिले देशले ठूलो रिभोलुशन खोजेको पनि औंल्याए । उनले अहिलेको व्यवस्थाले नेता पोस्नेबाहेक अरु केही नगरेको पनि आरोप लगाए । जनयुद्ध भएको र त्यसबाट प्रचण्ड र आसेपासेलाई मात्रै पोस्ने काम गरेको उनको आरोप छ । उनले एमालेलाई घाँटी कटुवा पार्टीको संज्ञा दिए र त्यसबाट केपी ओली र उनको आसेपासेले मात्रै लाभ लिएको आरोप लगाए ।
उनले केपी ओलीले मदन भण्डारीजस्तो सबैले सम्मान गर्ने व्यक्तित्वमाथि पनि प्रहार गरेको आरोप लगाए । उनले भने,‘केपी ओलीले उहाँ (मदन भण्डारी) माथि प्रहार गर्नुभयो । के गरेको हो ओलीजीले ? कतै सन्तुलन त गुमाउनुभएको छैन ।’ मदन जयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले दिएको मन्तव्यक्तको विषयमा उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले मुलुकको सबै बेथितको जड नै भ्रष्टाचार भएको दोहोर्याए । उनले भने,‘यो भ्रष्टाचारको जड मौलाउन दिएको पनि संसदीय व्यवस्थाले हो । अब समय छैन, देश कार्यकारी प्रमुखमा जानुपर्छ । यी नेताहरु काम लागेनन् । लोकतन्त्र बचाउने र देशको प्रगति गर्ने हो भने कार्यकारी प्रमुखको व्यवस्थामा जानुपर्छ । देशको लागि यो संसदीय व्यवस्था अभिषाप भयो । चेक एण्ड ब्यालेन्स हुनुपर्छ । बाहिरबाट मन्त्री लिएर जानुपर्छ । कार्यकारी प्रमुख प्रधानमन्त्री वा राष्ट्रपति जे होस, तर कार्यकारीमा जानुपर्छ । यो व्यवस्थाबाट भुँडी भरेकाहरु यो सिस्टमको पक्षमा छन् । अरु छैनन्।’
सो क्रममा उनले आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा भगवान श्रीकृष्णको महिमाबारे प्रकाश पारेका थिए । उनले श्रीमत्भागवत गीता र वेदको पनि ठूलो ज्ञाता भएकोले श्रीकृष्णको महिमा युगयुगसम्म रहने बताए । उनले भगवान श्रीकृष्णले अन्याय नसहनु भनेको स्मरण गराए ।
सो क्रममा उनले रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाको देशव्यापी अभियानको प्रशंसा गरे । उनले धमलाजस्तो व्यक्तिव्व अब देश हाँक्नको लागि आउनुपर्ने सुझाव दिए । उनले धमला जनताको समस्या बुझ्नको लागि देशको कुनाकाप्चामा पुगेको र साक्षात्कार गरेको पनि स्मरण गराए । उनले भने,‘अब ऋषि धमलाजस्तो व्यक्ति आउनुपर्यो, डाक्टर सुरेन्द्र केसीजस्तो व्यक्ति आउनुपर्यो ।’




प्रतिक्रिया