मेरो कार्यकालमा नेपाल–जर्मनीबीचको सम्बन्ध अझै बलियो हुनेछ : जर्मनी राजदूत भोल्ज


काठमाडौं, ३१ साउन । नेपालका लागि जर्मनका राजदूत उडो युगेन भोल्जले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफनो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । शितलनिवासमा यही साउन २९ गते आयोजित एक समारोहबीच राजदूत भोल्जले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूत भोल्जलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।

राजदूत भोल्जले राष्ट्रपति पौडेलबाट प्राप्त भएको न्यानो स्वागत तथा आतिथ्यताबाट आफू आभारी रहेको उल्लेख गरेका छन् । उनले आफ्नो कार्यकालमा नेपाल र जर्मनीबीचको द्धिपक्षीय सम्बन्ध अझै प्रगाढ हुने विश्वास दिलाएका छन् ।