‘सुशासन र पारदर्शीता नहुँदा नागरिक निराश भए’


काठमाडौं, २ भदौ । नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्या भण्डारीले वर्तमान सरकारले सुशासन नदिएको भनेर आलोचना गरेकी छिन् । उनले सुशासन, पारदर्शीता र जवाफदेहिता नहुँदा नागरिकस्तरमा निराशा बढेको भन्दै अहिलेको केपी ओली नेतृत्वको सरकारप्रति कटाक्ष गरेकी छिन् ।

विराटनगरमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजमा निराशा उत्पन्न हुनुको कारण पहिल्याउने क्रममा यस्तो दाबी गरेकी हुन् । सो क्रममा उनले सुशासनलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न नसके विकास, न्याय र समानताको जनअपेक्षा पूरा हुने सम्भावना न्यून रहेको बताईन् ।

भण्डारी विराटनगरमा आज र भोलि व्यस्त हुनेछिन् । उनी भोलि साँझ काठमाडौं फर्किने कार्यक्रम छ । एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारी गत शनिबार चिया पसलमा युवाहरुसँगको अन्तरक्रियामा व्यस्त थिईन् । file photo