एनआरएनए अमेरिकाको अध्यक्षमा सतेन्द्र शाह निर्वाचित, चुनावी वाचा पूरा गर्ने प्रतिबद्धता


काठमाडौं, २ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको राष्ट्रिय समन्वय परिषद्को अध्यक्षमा सतेन्द्र शाह निर्वाचित भएका छन् । नवनिर्वाचित शाहले एनआरएनए अमेरिकाको नेतृत्वमा पुर्याउनको लागि मतदान गर्ने सबैप्रति आभार प्रकट गरेका हुन् ।

शाहले फेशबुकमार्फत भनेका छन्,”मलाई एनआरएनए अमेरिकाको नेतृत्वमा पुगेको हेर्न चाहेर मैले उम्मेद्वारी गर्ने सोंच सार्वजनिक गरेदेखिनैं अनवरत सहयोग गर्नुहुने र सद्भाव देखाउनुहुने सबैप्रति कृतज्ञता व्यक्त गर्दछु । म सगैं एनआरएनए एनसिसी अमेरिकाको विभिन्न पदमा र च्याप्टरका पदहरुमा निर्वाचित हुनुहुने सबैलाई बधाई सहीत सगैं सफल यात्राका लागि शुभकामना दिन चाहन्छु ।”

उनले आफूसँगै अध्यक्षका प्रत्यासी बनेका भानु खरेल, रामहरी अधिकारी र रामजी आचार्यसँगै सबै जना एनआरएनए अभियानमा सँगै रहने पनि विश्वास दिलाएका छन् । उनले आफूले अध्यक्षका प्रत्यासीहरुका राम्रा योजनालाई सम्बोधन गर्दै कार्यन्वयन गराउन भूमिका खेल्ने पनि विश्वास दिलाएका छन् ।

शाहले एकताबद्ध एनआरएनएले मात्र एनआरएनहरुका मुद्दालाई सम्बोधन गर्नसक्छ भन्ने कुरामा आफू पूर्ण जानकार रहेको उल्लेख गरे । आफूले चुनावी अभियानको क्रममा गरेका वाचा र प्रतिबद्धतालाई कार्यान्वयन गराउने पनि शाहको भनाई छ ।

शाहले अहिले एनआरएनए अभियानमाथि नै प्रश्न उठिरहेको र एनआरएनए संस्थामाथि नै विश्वासको कमी भएको अवस्थाको बीचमा पनि संस्थाको आवश्यकता अझ छ भन्ने सन्देशसहित मतदानमा सहभागी सबैप्रति आभार प्रकट गरेका छन् ।

सो क्रममा उनले निर्वाचन समिति, डा. अर्जुन बञ्जाडेको नेतृत्वको वर्तमान कार्यसमिति, पूर्व अध्यक्षहरु, पूर्व पदाधिकारीहरु, एनआरएनए अभियन्ताहरु, पत्रकारहरु एवम् सम्बद्ध सबैमा धन्यवाद व्यक्त गरेका छन् ।