उपसभामुख हटाउने प्रयास : प्रचण्डले देउवासँग कुरा गर्ने


काठमाडौं, ३ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले उपभामुख इन्दिरा रानालाई हटाउन कांग्रेस र एमालेले सुरु गरेको कसरतको विरोध गरेका छन् । विपक्षी दलरुको बैठक राखेर दाहालले कांग्रेस र एमालेले गलत कदम चालेको निश्कर्ष सुनाएका हुन् । आजको विपक्षी दलहरुको बैठकमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, नेकपा (एकीकृत समाजवादी), आम जनता पार्टी र नेपाल समाजवादी पार्टीका नेताहरु सहभागी थिए ।

बैठकमा प्रचण्डले उपसभामुख रानाविरुद्ध दुई ठूला पार्टी यसरी लाग्नु गलत भएको बताएका थिए । उनले यो विषयमा आफूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुरा गर्ने जानकारी दिएका थिए । कांग्रेस र एमालेका सांसदहरुले उपसभामुख रानालाई हटाउनको लागि महाभियोग प्रयोजनार्थ हस्ताक्षर अभियान सुरु गरेका छन् ।

महाभियोग प्रस्ताव पारित हुनको लागि दुई तिहाई बहुमत चाहिन्छ । आज हस्ताक्षर संकलन गरेर राखिएको छ । कतिपय कांग्रेसकै सांसदहरुले पनि हस्ताक्षर नगरेको भनिएको छ । शेखर कोइरालाले यो बेमौसमी बाजा भनेका छन् । हाल अमेरिका भ्रमणमा रहेकी उपसभामुख रानाले शेखरसँग टेलिफोनमार्फत सम्वाद गरेकी छिन् ।