रवि लामिछानेमाथि प्रतिशोध साँधेर कांग्रेस-एमालेले आफ्नै खुट्टामा बन्चरो हानिरहेका छन्ः प्रचण्ड


काठमाडौं, ४ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रवि लामिछानेमाथि प्रतिशोध साँधेर नेपाली कांग्रेस र नेकपा (एमाले) ले आफ्नै खुट्टामा बन्चरो हानिरहेको बताएका छन् । नख्खु कारागार पुगेर लामिछानेलाई भेटेका प्रचण्डले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले कांग्रेस–एमालेले आत्मघाती काम गरिराखेको बताएका हुन् ।

‘उहाँलाई राजनीतिक रुपले अहिले कांग्रेस–एमालेले उहाँमाथि जसरी व्यवहार गरेको देखिएको छ, त्यसले उहाँ र उहाँको पार्टीलाई देशभरी फाइदा भएको छ भन्ने कुरा उहाँले राम्रो बुझ्नु भएको छ । कांग्रेस–एमालेले आफ्नै खुट्टामा बन्चरो हान्ने काम किन गरेका होलान्, आत्माघाती काम किन गरेका होलान् भन्ने उहालाई लागेको कुरा पनि राख्नुभयो,’– उनले भने ।

साथै, भेटका क्रममा उपसभामुख इन्दिरा राना मगरलाई कांग्रेस–एमालेले हटाउन खोजेकोप्रति पनि कुरा भएको प्रचण्डले बताए । कांग्रेस–एमालेले उपसभामुख रानामाथि झम्टिने काम गरिराखेको उनले बताए । ‘मैले हिजो प्रतिपक्षको बैठक बस्दा पनि मैले भनेको थिएँ– इन्दिरा राना आदिवासी जनजाति महिला, सामाजिक क्षेत्रमा लागेर राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यक्तित्व बनाएको महिलाको सानो टेक्निकल विषयलाई जे गरिएको छ, विलकूल गलत भएको छ भनेर मैले हिजो नै भनेको थिएँ । आज पनि उहाँसँग यो विषयमा छलफल भएको छ,’– उनले भने ।

साथै, वर्तमान सरकारको काम कारबाहीबाट कांग्रेस–एमालेको स्थिति आम जनतामा धेरै नै खस्किसकेको प्रचण्डले बताए । उनले जनता कांग्रेस–एमालेविरोधी भइसकेको अवस्थामा पनि उनीहरु भने अन्धोमान्छे भएर सत्तामा बसिराखेको प्रचण्डले बताए ।

‘हामीले अहिलेसम्म पनि सरकारलाई खबरदारी भनिराखेका छौं । सरकारले विचार गरोस् । सरकारले जे गरेको छ– त्यसले कांग्रेस र एमालेको स्थिति आम जनतामा धेरै नै खस्किसकेको छ । कसरी नबुझेको होला । मलाई अनौठो लाग्छ । के नबुझेको होला ? सबै जनता कांग्रेस–एमाले विरोधी भइसके । तर, उनीहरुलाई चाहिँ सत्तामा बस्दासम्म अन्धोमान्छेजस्तो हुनुभएको छ उहाँहरु,’– उनले भने ।