काठमाडौं, ७ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले एमालेले पूर्वराषट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणलाई सदर गर्नुपर्ने मत राखेका छन् । उनले भने,‘विद्या भण्डारीको सदस्यता जो नवीकरण भएको छ, नवीकरण भएकोलाई सदर गर्नुपर्छ । उहाँ पार्टी सदस्य भएर क्रियाशिल हुन्छु भन्दा क्रियाशील बनाउनुपर्छ । बरु, पार्टीले काम दिएर जिम्मा दिनुपर्छ ।’
यो विषय समाधान गर्नसकिने उनको विश्वास छ । भण्डारीलाई राष्ट्रपतिमा पठाउने काम एमालेले गरेको भन्दै आँफै मनलाग्दी एमालेबाट राजीनामा नदिएको ज्ञवालीले जिकिर गरे । उनले भने,‘विद्या भण्डारीले आफ्नो इच्छाअनुसार गरेको होईन, पार्टीको निर्णयअनुसार राष्ट्रपतिमा जाने निर्णय गरेको हो । पार्टीले एउटा क्षेत्रमा काम गर्न पठाएको हो ।’
विद्या भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको कुरा एमाले पार्टी पँक्ति सबैलाई थाहा थियो भन्ने उनको दाबी छ । उनले भने,‘विद्या भण्डारीले सदस्यता नवीकरण गरेको कुरा सबैलाई थाहा थियो । हामी सबैलाई थाहा थियो । यो कुरा सचिवालय बैठकमा पनि भएको थियो ।’ उनले आफूहरु कुनैपनि हालतमा एमाले फुटाउने पक्षमा नभएको जिकिर गरे । उनले आफू जिन्दगीभरि पार्टी फुटाउने कुराको विरोधमा रहेको स्मरण गराए ।
उनले लिपुलेक, लिम्पियाधुराको विषयमा छलफल र बहस भारतसितको विषय भएको बताए । उनले भने,‘यहाँ के छ भन्दाखेरि लिपुलेक, लिम्पियाधुराको छलफल र बहस भनेको हाम्रो भारतसित हो । चीनसित होइन। यो चीनको सिमाना होईन । यो भारत र नेपालको सिमानामा पर्ने नेपालको भूभागको विषय हो । यो चीनसितको लडाईं होईन ।यो त भारतसँगको मतभेद हो । यो कुरा हामी निरन्तर उठाईराख्छौं । हामीसँग धेरै प्रमाण र तथ्यहरु छन् । भारतले तथ्य केही छैन भनेर प्रतिक्रिया जनाएको छ । केपी ओली प्रधानमन्त्री भएको बेलामा संसद्बाट सर्वसम्मत् पारित भएको छ ।’
आज (शनिबार) नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको दाबी गरे । कालापानीमा भारतले नेपाली भूमि हडेपेर सेना राखेको भन्दै त्यहाँबाट हट्नुपर्ने आफूहरुको आवाज भएको उनको दाबी छ । लिपुलेक पाश हुँदै भारत र चीनले नाका सुचारु गर्नेबारे गरेको सहमतिमा दुवै देशले गल्ती गरेको ज्ञवालीको भनाई छ ।
उनले यो सिमा विवाद समस्या समाधानको लागि नेपालले कुरा उठाउनुपर्ने बताए । भारत र चीनबीच व्यापारिक नाका खोल्ने विषयमा पछिल्लो समय सहमति गर्दा चीनले ख्याल नगरेको भन्दै ज्ञवालीले असन्तुष्टि पोखे । उनले भने,‘चीनले ख्याल गर्नुपर्ने थियो, त्यो विवादित ठाउँमा यसो गर्नुहुँदैन भन्नुपर्दथ्यो, नेपालसँग सल्लाह गर्नुपर्दथ्यो । चीनसित पनि यसबारेमा हाम्रो गुनासो रह्यो ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीन भ्रमणमा यो सिमा विवाद दुवै देशसँग उठाउनुपर्नेमा उनको जोड छ ।




प्रतिक्रिया