वर्तमान सरकार इतिहासकै कलंकित, यति गैरजिम्मेवार शासन मैले देखेको थिइनँ : हृदयेश त्रिपाठी (भिडिओ सहित)


काठमाडौं, ७ भदौ । जनता प्रगतिशील पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री हृदयेश त्रिपाठीले सरकारले ल्याएको भूमि विद्येयक पारित भयो भने चुरे समाप्त हुने र तराई/मधेश स्थायी रुपमै मरुभूमिकरण हुने टिप्पणी गरेका छन् । यो वर्षको खडेरी र यसले पारेको प्रभावबाट नेपाल सरकार र शासकले चेत नलिएको उनको आरोप छ ।

आज (शनिबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘सरकारले किन यसो गरेको होला, भोट बैंकको लागि वा भ्रष्टाचारको लागि गरेको हो भनेर अहिले भन्न सकिने अवस्था छैन । तर, अति गैरजिम्मेवार ढंगले यो विद्येयक प्रस्तुत भएको छ । कुलिङ पिरियडको कुरा गर्नुस, वा संवैधानिक परिषदसम्बन्धी विद्येयक, जो राष्ट्रपतिले फिर्ता पठाउनुभयो, यति विघ्न गैरजिम्मेवार संसद ०४८ सालदेखि मैले चाहीँ देखेको थिइनँ । यति गैरजिम्मेवार शासनपनि देखेको थिइनँ ।’

उनले वर्तमान सरकार इतिहासकै कलंकित सरकार भएको जिकिर गरे । उनले कांग्रेस र एमालेजस्ता ठूला दल मिल्दा राजनीतिक स्थायित्व होला भनेको त्यो अहिले नदेखिएको आरोप छ । उनल अहिले सरकारको मात्रै स्थायित्व भएको बताए ।