काठमाडौं ९ भदौ । अर्थविद् प्रा.डा.गोपीलाल न्यौपानेले विद्यालय शिक्षा विधेयकले गरिबका छोराछोरीले पढ्न पाउने कुराको सुनिश्चितता नगरेको बताएका छन् । सुधार आन्दोलन नेपालले आज रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले गरिबका लागि विद्यालय शिक्षा विधेयक आउनु र नआउनुमा तात्वीक भिन्नता नरहेको बताएका हुन् ।
उनले आजको दिनमा पनि विद्यालय उमेर समूहका ८ लाख बालबालिका विद्यालय बाहिर रहेको बताए । प्रत्येक वर्ष १२ देखि १५ लाख विद्यार्थी हामी भर्ना गरे पनि त्यसको १० वर्षमा आधा विद्यार्थीले बीचमै पढाइ छाड्ने समस्या रहेको पनि उनले बताए । विद्यार्थीले बीचैमा पढाइ छाड्ने समस्या समाधान गर्नेगरी पनि अहिलेको शिक्षा विधेयक आउन नसकेको उनको भनाइ छ ।
‘गरिबका छोराछोरीहरु आज पनि स्कूल बाहिर छन् । यो विधेयकले विद्यालय शिक्षा दिने व्यवस्था गरेको छ त भनेर हामीले हेर्यौं । हामीले हेर्दाखेरी यो विधेयकले गरिबका छोराछोरीहरुका छोराछोरीले शिक्षा पाउने सन्दर्भमा यो विधेयकले बोलेको छैन । यो विधेयक गरिबमुखी छैन । गरिबका छोराछोरी पढाउने यसले कुनै चासो र चिन्ता लिएको छैन । त्यसैले यो विधेयक आउनु र नआउनुमा तात्विक अन्तर देखिँदैन,’– उनले भने ।
कक्षा १ मा १२ देखि १५ लाख भर्ना हुने र विद्यालय शिक्षा (कक्षा १२) को अध्ययन सकाउँदाखेरी एक लाखमा सीमित हुने अहिलेको अवस्था रहेको उनले बताए । उनले नेपालको शिक्षा पिरामिडजस्तो भएको टिप्पणी गरे ।
नेपालको शिक्षाको समस्या एउटा समूह विद्यालयमा पढ्नै नआउने, विद्यालय भर्ना भएको विद्यार्थी नटिक्ने, विद्यालयमा टिकेको विद्यार्थी पास नहुने र पास भएका विद्यार्थीले रोजगारी नपाउने रहेको उनले बताए । यो विधेयकले अहिलेको विद्यामान समस्याको समाधान गर्न नसक्ने उनले बताए ।
विद्यालय तहमा लगभग २ खर्ब बजेट छुट्याइएकोमा ४५ देखि ५० प्रतिशत शिक्षकहरुको तलबमा खर्च हुने गरेको बताए । बाँकी एक खर्ब बजेट पारदर्शी नहुने उनको भनाइ छ । ‘मेरो अनुमानमा लगभग एक खर्ब रुपैयाँ भ्रष्टाचार हुन्छ,’– उनले भने ।
उनले विद्यालयलाई फेरि पुरानै विद्यालय प्रणाली, कानून र नीतिलाई निरन्तरता दिने हो भने नयाँ चिजको आएको अनुभूति नहुने बताए ।




प्रतिक्रिया