रविप्रति पूर्व राष्ट्रपति भण्डारीको सद्भाव, सहकारीको विषयलाई राजनीतिक मुद्दा बनाएर फसाइएको निष्कर्ष


काठमाडौं, १० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । रास्वपा प्रवक्ता झाले भण्डारी निवास भंगालमा पुगेर भण्डारीसँग भेटवार्ता गरेका हुन् । भण्डारी र झाबीच भएको करिब २ घण्टा लामो छलफलमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे कुराकानी भएको बताइएको छ ।

रास्वपा प्रवक्ता झाले बताएअनुसार भेटका क्रममा पूर्व राष्ट्रपति भण्डारीले सहकारीको विषय राजनीतिक मुद्दा बनाएर रवि लामिछानेलाई दुःख दिइएको धारणा व्यक्त गरेकी थिईन् । रविलाई दुःख दिइएकोमा आफू असन्तुष्ट रहेको र उनीप्रति आफ्नो सद्भाव रहेको पनि भण्डारीले बताएको प्रवक्ता झाले सुनाए । ‘सहकारीको विषयलाई राजनीतिक मुद्दा बनाएर रवि लामिछानेलाई दुःख दिइराखिएको छ । त्यसमा म असन्तुष्ट छु,’– भण्डारीको भनाइ उदृत गर्दै रास्वपा प्रवक्ता झाले भने ।

प्रवक्ता झाका अनुसार भण्डारीले पढेलेखेका नयाँ पुस्ता राजनीतिमा आउँदा आफूलाई खुसी लागेको पनि बताएकी थिईन् । अहिले नयाँ पुस्तालाई राजनीतिमा आउन सहज रहेको र आफूहरु राजनीतिमा आउँदा निकै गाह्रो परिस्थिति पार गरेको पनि भण्डारीले झालाई स्मरण गराईन् । ‘अहिले पढेलेखेकाहरू आउन थालेको छ । त्यो राम्रो हुँदै छ,’– भण्डारीको भनाइ थियो ।