काठमाडौं, ११ भदौ । राजनीतिक विश्लेषक मुमाराम खनालले माओवादीभित्र जनार्दन शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आत्मसमर्पण गर्नु वा छुट्टै पार्टी बनाउनुको विकल्प नरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । विश्लेषक खनालले कम्युनिष्ट पार्टीभित्र संघर्षको स्वरुप एउटै हुने पनि बताए ।
‘कम्युनिष्ट पार्टीको संरचना व्यक्तिवादी हुन्छ । व्यक्तिवादी पार्टीमा मतभेद गर्नसाथ त्यो पार्टी फुट्छ । या त जनार्दनले प्रचण्डसामू आन्मसमर्पण गर्छन्, या उनले छुट्टै पार्टी बनाउनुपर्ने हुन्छ । वा अर्को पार्टीमा जानुपर्ने हुन्छ । त्यो बाहेक त कुनै अर्को परिणाम आएकै छैन । नेपालको कम्युनिष्टहरुलाई हामीले भन्दा बढी जनताले बुझिसके,’– उनले भने ।
साथै, उनले माओवादी २०६४ पछि कमजोर हुँदै–हुँदै ३२ सिटमा आइपुगेको बताए । २०८४ को निर्वाचनमा १५÷१६ सिटमा माओवादी सीमित हुने उनको आँकलन छ । माओवादी नसुध्रिएको र उसले सुध्रिन आवश्यकसमेत नठानेको उनको भनाइ छ । प्रचण्डले ‘म नहुने हो भने लोकतन्त्रको खम्वा नै ढल्छ’ भनि गरेको टिप्पणीको खण्डण गर्दै उनले भने, ‘जसले लोकतन्त्रलाई समाप्त पार्नका लागि लोकतन्त्र आउनेबित्तिकै सत्ता संघर्ष गर्यो । त्यसैका कुरा चाहिँ त्यस्ता छन् ।’
प्रचण्डलाई प्रमुख प्रतिपक्षी दलको नेतासमेत मान्न नसकिने उनले बताए । सत्तामा कसैले नलगेको कारण माओवादी जबरजस्ती प्रतिपक्षी दल भएको उनको टिप्पणी छ ।




प्रतिक्रिया