संख्याको तागत विवेकभन्दा ठूलो हुने प्रणालीले हाम्रो संघर्षलाई कठिन बनाएको छः प्रचण्ड


काठमाडौं, ११ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संख्याको तागत विवेकभन्दा ठूलो हुने प्रणालीले आफूहरुको संघर्षलाई कठिन बनाएको बताएका छन् । आज (बुधबार) नवराज पुडासैनी ‘गुराँस’द्वारा लिखित ‘संघर्षमा सिरानचोक’ पुस्तकको लोकार्पण तथा विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘यदि जनयुद्ध र माओवादी आन्दोलनले स्थापित गरेका मान्यताहरूलाई हामीले विद्यालय, कलेज, गाउँ, शहरमा स्थापित गर्न सकेको भए आज देखिएको अराजकता र बेथिति रोक्न सकिन्थ्यो। संख्याको तागत विवेकभन्दा ठूलो हुने प्रणालीले हाम्रो संघर्षलाई कठिन बनाएको छ,’– उनले भने ।

अध्यक्ष प्रचण्ड ले ७५३ वटै पालिकामा जनताको संघर्षका गाथा र योगदानहरू लिपिबद्ध गर्ने अभियान अघि बढाउनुपर्ने आवश्यकता औंल्याए । अध्यक्ष प्रचण्डले प्रत्येक पालिका र वडास्तरसम्मै भएका त्याग, तपस्या र बलिदानका ऐतिहासिक गाथा संकलन गरेर एउटा ठूलो राष्ट्रिय कृतिमा परिणत गर्न सकिने बताए ।

‘नवराजजीले गर्नुभएको यो कार्य प्रेरणादायी छ। यो अभियान ७५३ पालिकामा विस्तार हुनु जरुरी छ। यसले गणतन्त्रका लागि योगदान गर्ने कांग्रेस, एमाले, माओवादी वा जुनसुकै दलसँग सम्बन्धित सहिद र योद्धाहरूलाई समान सम्मान गर्ने बाटो खोल्छ,’– उनले भने ।

अध्यक्ष प्रचण्डले यसअघि प्रज्ञा प्रतिष्ठानमा माओवादी जनयुद्धसँग सम्बधित कृतिहरूलाई गरिएको विभेद पछिल्लो समय सच्चिएको उल्लेख गरे । ‘माओवादी जनयुद्धलाई अछुतको रूपमा होइन, इतिहासको महत्वपूर्ण अंगका रूपमा मान्यता दिने प्रयास सुरु भएकोमा धन्यवाद,’– उनले भने ।

उनले जनयुद्धलाई साहित्य, दर्शन र संस्कृतिको दृष्टिमा समेत मौलिक सौन्दर्य र ऐतिहासिक योगदान भएको भन्दै यसलाई विद्यालयदेखि विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिए । ‘जनयुद्धलाई आतंककारी गतिविधि भनेर मात्र व्याख्या गर्ने प्रवृत्ति अझै छ। तर यो आन्दोलन लोकतन्त्र, गणतन्त्र र सामाजिक रुपान्तरणको मुख्य वाहक हो भन्ने कुरा सबै दल र समाजले आत्मसात् गर्न आवश्यक छ,’– उनले भने ।

उनले नेपाली जनयुद्धको तयारी केवल मार्क्स, एंगेल्स, लेनिन, माओका ग्रन्थ पढेर नभई नेपालकै विगतका विद्रोह र आन्दोलनहरूको गहिरो अध्ययनका आधारमा गरिएको बताए । ‘लखन थापादेखि भीमदत्त पन्त, झापा विद्रोहदेखि किसान संघर्षहरूसम्मको इतिहास अध्ययन गरेर नै रणनीति तयार भएको थियो। त्यसैले जनयुद्ध सिङ्गो राज्य शक्ति र अन्तर्राष्ट्रिय शक्तिको दवाबमा पनि दबिएन । जनताले निरन्तर साथ दिए,’– उनले भने ।

प्रचण्डले माओवादी आन्दोलनको मानवीय पक्षलाई विशेष गरी स्मरण गर्दै युद्धका क्रममा कतिपय कमजोरी भए पनि आत्मालोचना र सुधार गर्ने परम्परा माओवादीमा मौलिक रहेको उल्लेख गरे । उनले विभाजन र अन्तरद्वन्द्वका कारण आन्दोलनको महत्त्वपूर्ण उपलब्धिहरू जनतामाझ पूर्णरूपमा स्थापित गर्न नसकिएको स्वीकार गर्दै गणतन्त्रले ल्याएको परिवर्तनलाई संस्थागत गर्न परिवर्तनको आन्दोलन जनयुद्वलाई सही मूल्याङ्कन गर्न आवश्यक रहेको बताए ।

‘यदि जनयुद्ध र माओवादी आन्दोलनले स्थापित गरेका मान्यताहरूलाई हामीले विद्यालय, कलेज, गाउँ, शहरमा स्थापित गर्न सकेको भए आज देखिएको अराजकता र बेथिति रोक्न सकिन्थ्यो। संख्याको तागत विवेकभन्दा ठूलो हुने प्रणालीले हाम्रो संघर्षलाई कठिन बनाएको छ,’– उनले भने ।

अध्यक्ष प्रचण्डले पुस्तक ‘संघर्षमा सिरानचोक’ सिरानचोकको इतिहास मात्र नभई देशभरिका विद्रोह र त्याग–तपस्याको सामूहिक अभिलेखका रूपमा लिनुपर्ने उल्लेख गर्दै भने, ‘यो पुस्तकले विद्रोह र त्यागको इतिहास लेखनको नयाँ उद्घाटन गरेको छ। सबैलाई एकतावद्ध गरेर अराजकता र बेथितिविरुद्ध लड्ने प्रेरणा दिन्छ ।’