काठमाडौं, १२ भदौ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले संविधान संशोधनको प्रक्रिया टरिनसकेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संविधान संशोधनको प्रक्रिया ढिला भएको भए पनि त्यसलाई टरेको भन्न नमिल्ने बताएका हुन् । निर्वाचन प्रणाली, राज्यको शासकीय स्वरुप जस्ता विषयहरुमा प्रवेश गर्दा संविधान संशोधनको क्रममा विवाद र जटिलताहरु आउने उनले बताए । यसका लागि राष्ट्रिय सहमति खोजिनु आवश्यक रहेको उनको भनाइ छ ।
‘संविधान संशोधन जटिल विषय हो । केही विषयहरु छन्, जसलाई मात्रै सम्बोधन गरौं न त भन्ने हो भने संविधान संशोधन सजिलै हुन सक्छ । तर, निर्वाचन प्रणाली, राज्यको शासकीय स्वरुपजस्ता कुराहरुमा प्रवेश गर्ने हो भने जटिल र विवादास्पद नै हुन्छ । त्यो विषयमा राष्ट्रिय सहमतिको पनि जरुरी हुन्छ । यी कुराहरुले गर्दाखेरी संविधान संशोधनको प्रक्रिया ढिला भएको हो । अहिलेलाई ढिला भएको अवस्था चाहिँ हो । तर, टरेको अवस्था चाहिँ होइन,’– उनले भने ।
साथै, प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका निवर्तमान सभापति रामहरि खतिवडाबारे पार्टी सभापति शेरबहादुर देउवाले सामान्य त्रुटी औंल्याएको उनले बताए । बैठकका क्रममा सभापति देउवाले पढेर हस्ताक्षर गर्नुपर्नेमा नपढी खतिवडाले हस्ताक्षर गरेको तर नियतमा कुनै पनि प्रकारको बेइमानी नरहेको भनी बताएको उनले सुनाए । ‘उहाँको एउटै कुरा हो कि– रामहरिको सामान्य त्रुटिमात्रै हो । पढेर हस्ताक्षर गर्नुपर्थ्यो । त्योदेखिबाहेक नियतमा बेइमानी थिएन भन्ने कुरा उहाँको हो । रामहरि खतिवडालाई नै ल्याउनुपर्छ भनेर चाहिँ उहाँले भन्नुभएको होइन,’– उनले भने ।




प्रतिक्रिया