काठमाडौं, १४ भदौ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले भारतसँगको अविश्वासहरु हटाउन जरुरी रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले नेपाल–भारतबीचको सम्बन्ध राम्रो रहेको र केही अविश्वासहरु पनि हटाउँदै जानुपर्ने बताएका हुन् । नेपालको व्यापार सबैभन्दा धेरै भारतसँग नै रहेको र बहुआयमिक सम्बन्धसमेत रहेको बताउँदै उनले सम्बन्धमा अलिकति तलमाथि पर्यो भने नेपाललाई धेरै प्रभाव पर्ने बताए । नेपालले आफ्ना कुराहरु पनि सुस्पष्ट ढङ्गले सम्बन्धित ठाउँमा आधारसहित प्रस्तुत गर्नुपर्ने र भारतीय पक्षहरुको चासो र चिन्तालाई पनि गम्भीरताको साथ लिर्ने उनले बताए ।
‘नेपाल–भारत सम्बन्ध राम्रै छ । अझ यसलाई अविश्वासहरु हटाउन जरुरी छ । हामीले सबैभन्दा धेरै कुराकानी गर्नुपर्ने पनि भारतसँगै हुन्छ । किनभने व्यापार व्यवसाय पनि सबैभन्दा धेरै भारतसँग नै छ । ठूलो आयत हामी भारतबाट गर्छौं । निर्यात पनि थोरै भए पनि अरुको तुलनामा हामी धेरै गर्छौं । त्यस हुनाले भारतसँग बहुआयमिक सम्बन्ध छ । त्यसमा अलिकति तलमाथि पर्यो भने हामीलाई धेरै प्रभाव पर्छ । अरु देशसँग धेरै प्रभाव पर्दैन । व्यापार नभए पनि खास प्रभाव पर्दैन । अरुखाले प्रभाव पर्दैन,’– उनले भने ।
साथै, फरक प्रसंगमा उनले अबको १० महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने विश्वास व्यक्त गरे । ‘अब १० महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसलाई नेतृत्व हस्तान्तरण गर्नु हुन्छ ? तपाईँहरु ढुक्क हुनुहुन्छ नि ?’ भन्ने प्रश्नमा उनले भने, ‘त्यही विश्वास छ । त्यसमा अविश्वास गर्नुपर्ने कारण के छ र ? नेतृत्वले त्यही भनेको छ, मलाई पनि लाग्छ– उहाँले हस्तान्तरण गर्नुहुन्छ । शंका गर्न आवश्यक छैन ।’




प्रतिक्रिया