माओवादी केन्द्रको किराती राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सचिव किराती आजपा प्रवेश


काठमाडौं, १३ भदौ । नेकपा (माओवादी केन्द्र) निकटको किराती राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सचिव दिनेश किराती पार्टी परित्याग गरी आम जनता पार्टी (आजपा) प्रवेश गरेका छन् । काठमाडौंको कोटेश्वरमा आज (शनिबार) बसेको आजपाको बागमती प्रदेश कमिटीको बिस्तारित बैठकका बीचमा किरातीले माओवादी परित्याग गरि आजपामा प्रवेश गरेका हुन् ।

आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले किरातीलाई पार्टी प्रवेश गराउदै उनको राजनीतिक यात्राका लागि शुभकामना व्यक्त गरे । टिका, माला लगाएर पार्टी प्रवेश गराउँदै अध्यक्ष साहले पार्टीमा उचित जिम्मेवारी दिने बताए ।

आजपा प्रवेश गर्दै दिनेश किरातीले किरातलाई जोडनुभन्दा टुक्रयाउने काम माओवादी केन्द्र र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको आरोप लगाए । कोशी प्रदेशलाई किरात प्रदेश नामकरण नगरी माओवादी र नेतृत्वले षडयन्त्र गरेको उनको भनाइ छ ।

उत्पीडित समुदाय र भूईमान्छेसँगको अधिकारको सुरक्षित गर्नका लागि आफू आजपामा प्रवेश गरेको उनले बताए । अरु दलभन्दा आदीबासी जनजाति, किरातीहरुको सम्बन्ध प्रत्यक्ष पार्टीको नेतृत्वसँग टेबल गर्ने गरी दस्ताबेज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै किराती पार्टीमा प्रवेश गरेको आजपा नेता सुभाष साहले बताए ।