काठमाडौं, १५ भदौ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पेशागत तथा बुद्धिजीवी विभाग संयोजक डा.डिला संग्रौला पन्तले छाउपडी प्रथाका कारण निरन्तर महिलाले ज्यान गुमाइरहनु परेको घटनाप्रति दुःख व्यक्त गर्दै नेपाली कांग्रेसले अब छाउलगायत सबै प्रकारका विभेदविरुद्ध देशव्यापी अभियान सुरु गर्नुपर्ने धारणा व्यक्त गरेकी छिन्।
अछामको पञ्चदेवल विनायक नगरपालिका–८ मा महिनावारीका बेला त्रिपालमा बसेकी एक महिला र एक बालिकाको भिरबाट खसेको ढुंगाले मृत्यु भएको घटनापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यस्तो अमानवीय प्रथाको जिम्मेवारी स्थानीय नेतृत्वले लिनुपर्ने बताईन् ।
उनले भनिन्, ‘महिनावारीलाई प्राकृतिक प्रक्रिया ठान्नुको सट्टा अशुद्ध मानेर आफ्नै छोरी–बुहारीलाई मृत्युको मुखमा धकेल्नु कुनै हालतमा स्वीकार्य छैन।’
डा.संग्रौलाले सबै प्रमुख राजनीतिक दलहरूलाई छाउपडी अन्त्यका लागि एकजुट अभियान सञ्चालन गर्न आग्रह गर्दै आफ्नै पार्टीका सदस्यले छाउ प्रथा जबरजस्ती गराए कारबाही गर्दै पार्टीबाटै निष्कासन गर्नुपर्ने चेतावनी दिईन् ।
उनका अनुसार नेपाली कांग्रेसले २००७ सालको हलो क्रान्तिको ऐतिहासिक विरासतलाई पछ्याउँदै विभेदविरुद्ध दृढ अभियान चलाउन ढिलाइ गर्न नहुने समय आएको छ।
नेपालमा छाउपडी प्रथा कानुनतः अपराध घोषित भए पनि अझै ग्रामीण क्षेत्रमा यसको कार्यान्वयन प्रभावकारी हुन नसकेको उल्लेख गर्दै उनले सरकारी, गैरसरकारी निकाय र राजनीतिक दल सबैले मिलेर यसलाई अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याईन् ।
गत २० वर्षमा मात्रै छाउगोठमा बसेका कम्तीमा २६ महिलाले ज्यान गुमाइसकेको तथ्याङ्क सार्वजनिक भइसकेको छ। कञ्चनपुरदेखि अछामसम्म निरन्तर दोहोरिएका घटनाले यो कुप्रथा अझै गहिरो जरा गाडेर बसेको प्रमाणित भएको उनले बताईन् ।




प्रतिक्रिया