काठमाडौं, १५ भदौ । गृहमन्त्री रमेश लेखकले उपभोक्ता अदालतलाई बढीभन्दा बढी अधिकारसम्पन्न बनाउनेतर्फ काम भइरहेको बताएका छन् । नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको आयोजनामा ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवादमा उपभोक्ता अदालत स्थापना भएर हाल कार्यसम्पादन गर्दै आइरहेको र यसलाई थप बलियो बनाउन सरकार केन्द्रित रहेको बताएका हुन् ।
“उपभोक्ता अदालतले आफ्नो काम गरिरहेको छ । अदालतलाई बढीभन्दा बढी अधिकारसम्पन्न बनाउनेतर्फ पनि काम अघि बढेको छ,” गृहमन्त्री लेखकले भने, “हामीले उपभोक्ताको अधिकारको विषयलाई अत्यन्त महत्त्वपूर्ण हिसाबले हेर्नुपर्ने हुन्छ । त्यसका लागि मैले सबैलाई आग्रह गरिरहेको छु ।”
गृहमन्त्री लेखकले कार्यक्रममा रासायनिक मलखादको समस्या र उखु किसानको अनुदानको कटौती गर्नु हुँदैन भनेर उठेका विषयतर्फ आफ्नो ध्यानाकर्षण भएको बताए । “मधेस प्रदेशमा पछिल्लो समय जलसङ्कट भइरहेको छ । वीरगञ्जलगायत ठाउँमा पानीको समस्या छ”, उनले भने, “अर्कोतर्फ यहाँ हैजाको प्रकोप पनि देखिएको छ । प्रकोप विस्तारित हुन थालेपछि केन्द्रीय सुरक्षा समितिको बैठकमार्फत नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयमार्फत तीनवटै सुरक्षा निकायका स्वास्थ्यकमी परिचालन गर्ने निर्णय गरेका छौँ ।”




प्रतिक्रिया