काठमाडौं, १६ भदौ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका केही पदाधिकारीहरुले वडा तहमा चुनाव जिताउने हैसियत पनि नराख्ने टिप्पणी गरेका छन् । पार्टीका नेता आनन्दप्रसाद पोखरेलद्वारा लिखित ‘कम्युनिष्ट पार्टी निर्माणका आधार’ पुस्तकको विमोचन समारोहलाई सम्बोधन गर्दै उनले वडा तहमा समेत चुनाव जिताउने हैसियत नभएकाहरुले कुरा चाहिँ ठूला–ठूला गर्ने गरेको बताएका हुन् ।
उपमहासचिव ज्ञवालीले धेरै नेता तथा कार्यकर्ता धागो नभएको चंगाजस्तो माथिमात्रै रहने, तर जनाधार भने नभएको बताए । देशमा ६ हजार ७ सय ४३ वडा रहेकोमा एमालेको कम्तिमा पनि ८० प्रतिशतभन्दा बढी वडामा बलियो जनाधार रहेको उनले बताए । ‘प्रत्येक नेताले आफ्नो वडा जिताई दिएको भए त दीग्विजयनै हासिल गर्थ्यौँ त हामीले। तर, हामी कतिपय केन्द्रीय सदस्य हुँला, कतिपय पदाधिकारी हुँला, कति जिल्लाका नेताहरू हुँला–जसले आफ्नो वडासमेत जिताउन सक्दैनन्। कुरा चाहिँ ठूलाठूला गर्छौं,’– उनले भने । File Photo/RN




प्रतिक्रिया