काठमाडौं, १७ भदौ । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीका विधान महाधिवेशनमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सहभागी गराउन नसकिने बताएका छन् । २०७८ मंसिर १० देखि १४ गतेसम्म चितवनको सौराहमा सम्पन्न भएको १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी व्यक्तिहरुमात्रै विधान महाधिवेशनमा सहभागी हुन पाउने जानकारी गराउँदै उनले अहिले कसैलाई मनोनित वा आमन्त्रित गरेर सहभागी गराउने व्यवस्था नरहेको बताए । भण्डारीलाई विधान महाधिवेशनमा सहभागी गराउने बारेमा पार्टीमा कुनै पनि प्रकारको छलफल नभएको उनको भनाइ छ ।
‘विधान महाधिवेशनका विद्यादेवी भण्डारीलाई पनि उपस्थित गराउनुपर्छ भनेर पार्टीमा व्यापक दवाब छ । त्यो सम्भव छ ?’ भन्ने प्रश्नमा उनले भने, ‘म त त्यस्तो देख्दिनँ । पार्टीको विधान, पार्टीको कार्य प्रणाली र पार्टीको अभ्यास बुझेको नेता, कार्यकर्ताहरु हुनुहुन्छ हाम्रो पार्टीमा । यो विधान महाधिवेशन भनेको नेकपा (एमाले) को २०७८ मंसिर १० देखि १४ गतेसम्म चितवनको सौराहमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी व्यक्तिहरुमात्रै यसमा सहभागी हुन पाउँछन् । अहिले कसैलाई मनोनित गरेर वा आमन्त्रण गरेर यसमा सहभागी हुने व्यवस्था छैन । त्यो कुरा हाम्रो पार्टीमा सबै नेता तथा कार्यकर्ताले बुझ्नुभएको छ । यो विषय हाम्रो पार्टीमा छलफलको विषय छैन ।’
पूर्व राष्ट्रपति भण्डारी एमालेको पूर्व उपाध्यक्ष भएको हिसाबले पनि उनको भ्रमणको क्रममा स्वागत हुनु, नेता तथा कार्यकर्ताले भेट्नु आदिलाई स्वभाविक रुपमा लिनुपर्ने बताए । भण्डारीलाई अहिले नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एमाले) र माओवादी केन्द्र लगायतका नेताहरुले भेटिरहेको जानकारी गराउँदै उनले आफूहरुले उनको भूमिका पनि त्यस्तै खोजेको बताए । पूर्व राष्ट्रपति भण्डारीलाई एउटा राजनीतिक दलको दायराभित्र सीमित गर्न नहुने उनको भनाइ छ ।
‘एउटा पार्टीको सीमित दायराभित्र होइन । सबै पार्टीका मानिसहरुले उहाँलाई भेट्न सकुन् । सबै खालको जनसमुदायले उहाँसँग आफ्ना कुरा राख्न सकुन् । उहाँ राष्ट्रको अभिभावकको रुपमा स्थापित हुन सक्नुस् भन्ने हाम्रो पनि चाहना छ । अहिले उहाँले त्यो काम गरिरहनु भएको छ । उहाँलाई अहिले नेपाली कांग्रेसका नेताहरुले भटिरहनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले भेटिरहनुभएको छ । माओवादी केन्द्रका नेताहरुले भेटिरहनुभएको छ । नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरुले पनि उहाँलाई भेटिरहनुभएको छ । सामाजिक रुपमा सक्रिय हुनका लागि उहाँलाई यही नै फोरम ठीक छ,’– उनले भने ।
अहिलेको अवस्थामा राष्ट्रपति भइसकेको व्यक्ति फेरि एमालेको दायरामा फर्किन, प्रतिस्पर्धाको राजनीतिमा फर्किन र फेरि दलीय राजनीतिमा फर्किन उचित नहुने भनेर पार्टीले संस्थागत निर्णय गरिसकेको पनि उनले बताए ।




प्रतिक्रिया