काठमाडौं, १९ भदौ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सरकारले फेशबुकलगायतका सामाजिक सञ्जाल बन्द गर्ने भनेर गरेको निर्णयलाई विनाशकाले विपरित बुद्धिको संज्ञा दिएका छन् । सूचना तथा प्रविधिको युगमा यसरी सोसल मिडिया बन्द गरिनु गलत भएको उनको भनाई छ ।
उनले सरकारले यो निर्णय लिनुभन्दा अघि नै एमालेका महासचिव शंकर पोखरेल र प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सोसल मिडिया बन्द हुँदैछ भनेर घोषणा गरेको विषयमा पनि आपत्ति जनाए । उनले भने,‘यो सरकार नियम, कानूनले चल्छ कि राजनीतिक सल्लाहकार र महासचिवको आदेशले चल्छ ?’
उनले सोसल मिडिया जनताको लागि सूचनाको पहुँचको लागि सजिलो साधन भएको सुनाए । विद्यार्थी, युवाको लागि पनि सोसल मिडिया उपयोगी भएको उनको भनाई छ । उनले सोसल मिडिया बन्द गरेपछि अब युवाहरु सडकमा आउने सुनाए । उनले वर्तमान सरकार आँत्तिएको र उल्टो गतिले चलिरहेको आरोप लगाए । उनले भने,‘यो सरकारले आँफै जाने निम्तो गरिराखेको छ । जनता सडकमा आउ, युवा सडकमा आउन भनिरहेको छ ।’




प्रतिक्रिया