मुम्बईलगत्तै पार्टीको अभियान विस्तारको लागि प्रभु साह नयाँ दिल्लीमा


काठमाडौं, २१ भदौ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । ‘प्रवासी नेपालीहरुको सम्मान र सुरक्षाका लागि’ आम प्रवासी नेपाली एकता समाजले भोलि (आइतबार) नयाँ दिल्लीमा आयोजना गर्ने भेला एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नको लागि अध्यक्ष साह आज दिल्ली पुगेका हुन् ।

आजपानिकट आम प्रवासी नेपाली एकता समाज भारत शाखाले आयोजना गर्न लागेको सो कार्यक्रममा नेपालबाट नयाँ दिल्लीमा विभिन्न पेशा तथा व्यवसाय र अध्ययनमा रहेका नेपालीहरुको सहभागिता रहने साहको सचिवालयले जनाएको छ । यसअघि साह भारतको आर्थिकनगरी मुम्बईमा आयोजित प्रवासी नेपालीहरुको कार्यक्रममा सहभागि भएका थिए । नेपालसहित विदेशमा समेत आजपाले संगठन निर्माणलाई तिव्रता दिएको छ।

नयाँ दिल्लीको बसाईको क्रममा अध्यक्ष साह भेला, अन्तरक्रिया कार्यक्रमका साथै त्यहीँ रहेका नेपाली उद्योगी, व्यवसायी, विद्यार्थीलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । आजपा अध्यक्ष साह ८ वर्षपछि पहिलोपटक दिल्ली पुगेका हुन् । आजपा गठनपछि साहको पहिलो विदेश दौड भारत बनेको छ ।

लाखौंको संख्यामा रहेका नेपालीहरुलाई देश निर्माणको अभियानमा जोड्नको लागि साहले प्रवासको पहिलो कार्यक्रम भारत तय गरेको बताईन्छ । नयाँ दिल्लीको कार्यक्रमलगत्तै साह मलेसिया, दुवई, कतार, साउदी अरबलगायतका मुलुकमा समेत भ्रमणमा निस्किने बताईन्छ ।