जेलेन्स्कीद्वारा पुटिनको मस्को बैठक प्रस्ताव अस्वीकार, किएभमा आमन्त्रण


किएभ, २२ भदौ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनको मस्कोमा भेट्ने प्रस्ताव अस्वीकार गर्दै यस्तो अवास्तविक स्थान चयनले रुसले वार्ताप्रति वास्तविक चासो नराखेको सङ्केत दिएको बताएका छन् ।

“म आतङ्ककारीको राजधानी जान सक्दिनँ, किनभने युक्रेन प्रत्येक दिन मिसाइल आक्रमण र गोलीबारीको सिकार भइरहेको छ”, अमेरिकी मिडियासँगको अन्तर्वार्तामा जेलेन्स्कीले भने, “पुटिन किएभ आउन सक्नुहुन्छ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै मुलुकका राष्ट्रपतिबीच आमनेसामने वार्ताका लागि निरन्तर दबाब दिइरहेका छन् ।

गत महिना अलास्कामा पुटिनसँगको ट्रम्पको शिखर सम्मेलनको प्रमुख उद्देश्यहरूमध्ये एक द्विपक्षीय वा त्रिपक्षीय बैठकको तयारी थियो ।

त्यसपछि ट्रम्पले युक्रेनी राष्ट्रपतिले वासिङ्टन भ्रमण गरी युरोपेली नेताहरूसँग छलफल गरेपछि पुटिन र जेलेन्स्कीबीच भेट हुनसक्ने बताएका थिए । तर मस्कोले अतिरिक्त सर्तहरू अघि सारेको, निर्णय रोकेको र युक्रेनी सहरहरूमा गोलाबारी बढाएको बताइएको छ ।

यसैबीच, पुटिनले यस हप्ता आफू जेलेन्स्कीसँग भेट्न ‘तयार’ रहेको तर मस्कोमै मात्र सम्भव हुने बताएका थिए ।

शुक्रबार, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले जेलेन्स्कीलाई रूसी राजधानीमा ‘वार्ता गर्न आमन्त्रित गरिएको, आत्मसमर्पण गर्न होइन” भनेर स्पष्ट पारेका छन्।

पेरिसमा सम्पन्न ‘सङ्कल्पको गठबन्धन’ शिखर सम्मेलनपछि जेलेन्स्कीले पुटिनको निमन्त्रणा अस्वीकार गर्दै भने, “यदि बैठक हुनै नदिने चाहना छ भने मस्कोमा निम्तो दिनु पर्ने देखिन्छ । रुसी नेतृत्वले व्यक्तिगत भेटवार्ताको कुनै विकल्पबारे बोल्नु पनि आफैँमा एउटा उपलब्धि हो ।”

उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सेप्टेम्बरको पहिलो पाँच दिनमै रुसले युक्रेनमा एक हजार तीन सयभन्दा बढी ड्रोन, करिब नौ सय निर्देशित बम र करिब ५० प्रकारका मिसाइल प्रहार गरेको बताए । उनका अनुसार देशका १४ क्षेत्रमा हवाई आक्रमण भएका छन् ।

ट्रम्पले पनि सोही दिन अमेरिकी मिडियासँग कुरा गर्दै भने, “केही न केही हुनेछ, तर उहाँहरू अझै तयार हुनुहुन्न… हामी यसलाई गर्नेछौँ ।”

तर उनले वासिङ्टनले स्वीकार्य ठानेको वार्ताका लागि कुनै समयसीमा भने तोकेनन्। रासस

Skip This

Omoda E5 Pro