जेन-जी पुस्ताको आन्दोलनलाई दुर्गाको साथ


काठमाडौं, २२ भदौ । जेन–जी पुस्ताले भोलि देशभर गर्ने प्रदर्शनमा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले साथ दिने भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजसमेत रहेका प्रसाईँले जेन–जी पुस्ताको आन्दोलनमा आफ्नो समर्थन गरेको बताएका हुन् ।

भ्रष्टाचारले देश आक्रान्त बनेको भन्दै युवा पुस्ताले भोलि काठमाडौंको माईतीघरमा बृहत्त प्रदर्शन गर्न लागेका हुन् । पछिल्ला दिन भ्रष्टाचारको विरोध गर्दै युवा पुस्ताले सोसल मिडियामार्फत भोलि सेप्टेम्बर ८ मा प्रदर्शनको मिति तय गरेका छन् ।

अहिले सामाजिक सञ्जाल टिकटकमा नेताहरुको महँगो जीवनशैली, खानपान, पहिरन र उनीहरुको सन्तानको पनि जीवनशैली एक्सपोज गरिएको छ । प्रदर्शनमा हजारौंको संख्यामा युवा पुस्ताले सहभागिता जनाउने हल्ला छ । अहिले टिकटकमा नेपो बेविज, ‘वी आर द लास्ट जेनरेशन द्याट यु क्यान फूल’ लगायतका ट्रेण्ड चलाएका छन् ।

भोलिको आन्दोलनमा समर्थन जनाउँदै उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘२२ रुपियाँको भुक्के चप्पलमा सिंहदरबार छिरेका नेताहरूका छोराछोरी आज करोडौँको घडी, लाखौँको जुत्ता(चस्मा र लुइभ्यानटका ४० लाख पर्ने झोला बोकेर हिँडिरहेका छन्। विदेशसम्म(अमेरिका, युरोप, अष्ट्रेलिया, कम्बोडिया सम्म भ्रष्टाचारको सम्पत्ति बगिरहेको प्रमाणसहित आवाज उठाउँदा मलाई कारागार धकेलियो। राजनीतिक दल र सञ्चार जगतले मलाई हेला गरे । तर, आज सत्यको पक्षमा जनचेतना जाग्दै गएको छ। म यस कुरामा धेरै खुसी छु ।’