जेन–जी पुस्ताको प्रदर्शनमा प्रचण्ड र कुलमानको पनि साथ


काठमाडौँ । उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले आजबाट सुरु भएको ‘जेन–जी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन जनाएका छन्। हिजो (आइतबार) नै घिसिङले सामाजिक संजालमा पोष्ट गर्दै जेन–जीको प्रदर्शनलाई समर्थन जनाएका हुन् । उनले सरकारले सामाजिक संजाल बन्द गर्न गरेको निर्णयको विरोध गरेका छन्। उनले उक्त निर्णयको विरोधमा जेन जी पुस्ताले निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानको ऐक्यबद्धता रहेको पनि जनाए।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पनि जेन–जी पुस्ताको प्रदर्शनलाई समर्थन जनाएका छन् । उनले सरकारलाई यो पुस्ताको आन्दोलनप्रति कुनै दमन र बल प्रयोग नगर्न चेतावनी दिएका छन् ।

प्रचण्डले भनेका छन्, ‘सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ। सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अबरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ। प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस। भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन जारी रहेको कुरा स्पष्ट छ।’

यसैबीच, काठमाडौँ महानगरका मेयर बालेन शाहले २८ वर्षभन्दा कम उमेरका जेन- जी पुस्ताका युवाहरुले आह्वान गरेको आन्दोलनमा आफ्नो समर्थन रहेको बताएका छन्। उनले आफू उमेर हदबन्दीका कारण र्‍यालीमा सहभागी हुन नमिल्ने भए पनि युवाहरूको इच्छा, उद्देश्य र सोच बुझ्न इच्छुक रहेको बताएका छन्। विभिन्न संघसंस्था तथा दलहरुले पनि उक्त आन्दोलनप्रति समर्थन जनाएका छन्।