प्रभु साह र भारतका लागि नेपाली राजदूत डा. शर्माबीच भेटवार्ता


काठमाडौं, २३ भदौ । भारत भ्रमणमा रहेका आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह र भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित् नेपाली दूतावासमा भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धको चर्चा गरिनुको साथै भारतमा रहेका सम्पूर्ण नेपालीहरुको सम्मान र सुरक्षाको विषयमा छलफल भएको साहको सचिवालयले जनाएको छ ।

पूर्वमन्त्री साह नयाँ दिल्लीमा पार्टीको प्रवासी संगठनले आयोजना गरेको विशेष भेला तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन भारत गएका हुन् । यसअघि उनी भारतको मुम्बईमा आयोजित पार्टीको कार्यक्रममा सहभागी भएका थिए । पछिल्लो समय साहले पार्टीको संगठन विस्तारलाई आक्रामक रुपमा अघि बढाएका छन् ।

साहले दलतन्त्र र नेतातन्त्रको कारण मुलुक आक्रान्त बनेको भन्दै अब तेस्रो जनआन्दोलनमार्फत अहिलेको व्यवस्था परिवर्तन गर्नुपर्ने आवाज उठाएका छन् । साहले यही भदौको अन्तिम साता पार्टीको केन्द्रीय कमिटी बैठकसमेत आह्वान गरेका छन् ।