तेल बजारमा सुधारको सङ्केत, ‘ओपेक प्लस’ले उत्पादन बढाउने


भिएना, २३ भदौ । खाडी मुलुकहरूको पेट्रोलियम निर्यात गर्ने राष्ट्रहरूको सङ्गठन र त्यसका सहयात्री मुलुकहरूको समूह (ओपेक प्लस) ले आइतबार एक भर्चुअल बैठक गरी आउँदो अक्टोबर महिनाबाट दैनिक एक लाख ३७ हजार ब्यारेलभन्दा बढी कच्चा तेल उत्पादन गर्ने निर्णय गरेका छन् ।

साउदी अरेबिया, रसिया, इराक, संयुक्त अरब राष्ट्र, कुवेत, काजाकिस्तान, अल्जेरिया र ओमानजस्ता आठ देशहरूले विश्व बजारको पछिल्लो अवस्था र भावी सम्भावनाको समीक्षा गरेपछि सो निर्णय गरिएको हो ।

ओपेकको सूचनामा भनिएको छ,“२०२१ मार्चमा गरिएको १६ लाख ५० हजार ब्यारेल दैनिक स्वैच्छिक कटौतीमध्येबाट अहिले एक लाख ३७ हजार ब्यारेल उत्पादन फेरी सुरु गर्ने निर्णय गरिएको हो ।”

ओपेकले विश्वको आर्थिक अवस्था हाल स्थिर रहेको र बजारको अवस्था सन्तुलित रहेको उल्लेख गरेको छ । तेलको भण्डारण न्यून रहेकोले बजारमा सुधारको सङ्केत देखिएको बताइएको छ ।
सो कटौती सन् २०२६ को अन्त्यसम्म लागू हुने गरी लम्ब्याइएको थियो । अहिलेको उत्पादन वृद्धिलाई बजारको अवस्थाअनुसार क्रमशः थप घटबढ गर्न सकिने ओपेकले जनाएको छ ।

ओपेक प्लस समूहले आगामी निर्णयहरूका लागि अक्टोबर ५ गते पुनः बैठक गर्ने जनाएको छ ।रासस

Skip This

Omoda E5 Pro