काठमाडौं, २३ भदौ । प्रमुख सत्तारुढ दल नेकपा (एमाले) का सचिव तथा पुर्व उपप्रधानमन्त्री रघुवीर महासेठले मिसन–२०८४ सफल बनाउन पार्टी एकताबद्ध भई अगाडि बढ्नुपर्ने बताएका छन् । पार्टीको मधेश प्रदेश सम्पर्क कमिटी र मधेशका आठवटै जिल्ला सम्पर्क मञ्चको आयोजनामा आज तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहलमा आयोेजित ‘सम्पर्क मञ्च र भूगोल पार्टीबीच अन्तरसम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा सचिव महासेठले आगामी निर्वाचनमा पार्टीलाई एकल बहुमत दिलाउन पार्टीभित्रका अन्तरविरोध र गुटबन्दी रोक्नुपर्नेमा जोड दिएका हुन् ।
विगतमा एमाले र माओवादी चुनावी गठबन्धनका साथ निर्वाचनमा जाँदा पार्टीलाई २०७४ को संसदीय निर्वाचनमा मधेशमा दुई स्थानमा मात्र सफलता प्राप्त भएको र २०७९ को निर्वाचनमा दश स्थानमा विजय प्राप्त भएको स्मरण गराउँदै उनले आगामी निर्वाचनमा मधेशमा कम्तीमा १५ स्थानमा विजय प्राप्त गर्ने गरी योजना बनाउनुपर्ने बताएका हुन् । सचिव महासेठले निर्वाचन जित्ने सम्भावना बढी रहेका जिल्ला र क्षेत्रहरूको पहिचान गर्नुपर्ने हुँदा त्यसको अध्ययन गर्न पार्टीको मधेश प्रदेश कमिटीलाई आग्रह पनि गरे ।
पार्टीको परराष्ट्र मामिला विभाग प्रमुख समेत रहेका सचिव महासेठले देश हितका लागि सामाजिक सञ्जाल बन्द गरिएको बताए । भारत लगायतका देशमा दर्ता भई सञ्चालन भइरहेका फेसबुक लगायत सामाजिक सञ्जाल नेपालमा दर्ता हुन नमान्नु÷ नआउनु हेपाहा प्रवृत्ति भएको बताउँदै सचिव महासेठले जेन जी पुस्ता र अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरू सबैले यो विषयलाई बुझ्नुपर्ने कुरामा जोड दिए ।




प्रतिक्रिया