काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले एमालेसँग भएको सात बुँदे समझदारीको औचित्य सकिएको बताएका छन् । उनीहरुले सभापति शेरबहादुर देउवालाई पार्टीका मन्त्रीहरु फिर्ता बोलाउन आग्रह गरेको पनि बताएका छन् ।
‘७ बुँदे समझदारीको औचित्य समाप्त भएको छ । सरकारबाट पार्टीका मन्त्रीहरू फिर्ता बोलाउन सभापतिज्युलाई भर्खरै आग्रह गरेका छौं । सभापतिज्युले अविलम्ब निर्णय गर्नु पर्छ । अन्यथा अन्य प्रक्रियाबाट निर्णय गरेर कदम चाल्न हामी बाध्य हुनेछौं,’– गगन–विश्वले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन् ।
महामन्त्रीद्वय गगन–विश्वले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर नवीन राष्ट्रिय सहमतिका लागि मार्गप्रशस्त गर्नसमेत आग्रह गरेका छन् । महामन्त्रीद्वय थापा र शर्माले जेनजी पुस्तालाई न्यायोचित माग पूरा गर्न आफूहरुले जोड गरिरहेको बताएका छन् । आन्दोलनका कार्यक्रमलाई संयम र शान्तिपूर्ण बनाउन पनि उनीहरुले जेन–जीलाई आग्रह गरेका छन् ।
महामन्त्रीद्वय थापा र शर्माले सरकार सहि ढंगले नचलेको, सच्चिनुपर्छ भनेर पार्टी बैठकमा, संसद्मा र सार्वजनिक स्थलमा पटकपटक आग्रह गर्दा पनि सरकार र प्रधानमन्त्री ओलीको शैली नसच्चिएको बताएका छन् । ‘सामाजिक संजाल खोल, भ्रष्टाचार नियन्त्रण गर, सुशासन कायम गर’ जस्ता न्यायोचित माग बोकेर सडकमा निक्लिएका जेन–जी पुस्ता माथिको दमन निन्दनीय रहेको गगन–विश्वको निष्कर्ष रहेको छ ।




प्रतिक्रिया