जेन-जी प्रदर्शनः संसद् भवनमा आगजनी


काठमाडौं, २४ भदौ । जेन–जी प्रदर्शनकारीहरुले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र भ्रष्टाचारको विरोधमा जेन–जीहरु हिजोदेखि प्रदर्शनमा उत्रिएका छन् । उनीहरुको प्रदर्शनमा प्रहरीले ब्यापक दमन गर्दा हिजो (सोमबार) १९ जनाले ज्यान गुमाएका थिए ।

आज विहानैदेखि आक्रमक बनेका जेन–जी प्रदर्शनकारीहरुले केही समय अघि सिंहदरबारको मुल गेटमासमेत तोडफोड र आगजनीको प्रयास गरेका थिए । प्रदर्शनकारीहरुले आज शीर्ष नेताहरुको घर, प्रहरी बिटलगायतलाई मुख्य निशानी बनाएर प्रदर्शन, तोडफोड र आगजनी गरिरहेका छन् ।

प्रदर्शनकारीहरुले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवास, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा,पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतका निवासमा तोडफोड र आगजनीको गरेका छन् ।