‘जेन-जी’ आन्दोलनः रास्वपा सभापति लामिछाने कारागारबाट रिहा


काठमाडौँ, २४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागारबाट रिहा भएका छन् । ठूलो सङ्ख्यामा प्रदर्शनकारी कारागार घेराउमा गएपछि परिस्थिति थप बिग्रन नदिन र परिस्थितिलाई काबुमा राख्ने सर्तमा उनलाई रिहा गरिएको कारागार प्रमुख सत्यराज जोशीले जानकारी दिए ।

सहकारी ठगी र संगठित अपराध मुद्दामा उनी पुर्पक्षका लागि थुनामा रहेका थिए । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र भ्रष्टाचारको विरोधमा हिजोदेखि जेन–जी पुस्ता आन्दोलनमा उत्रिएका छन् । जेन–जीको आन्दोलनमा हिजो प्रहरीले दमन गर्दा १९ जनाको मृत्यु भएको थियो । आज कालिकाटी प्रहरीले चलाएको गोली लागेर थप दुई जनाको मृत्यु भएको छ ।

काठमाडौं, भक्तपुर, ललितपुरलगायत देशका विभिन्न ठाउँमा कर्फ्यु र निषेधाज्ञा जारी गरिएको भए पनि प्रदर्शनकारीहरु उल्लेख्य मात्रामा सडकमा देखिएका छन् । उनीहरुले संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, विशेष अदालतलगायतका स्थानमा समेत आगजनी गरेका छन् ।