जेन-जी आन्दोलनकारी होइनन्, परिवर्तनकारी हुन्ः वरिष्ठ अधिवक्ता पण्डित


काठमाडौं, २५ भदौ । वरिष्ठ अधिवक्ता डा.गान्धि पण्डितले ‘जेन–जी’ लाई परिवर्तनकारीको संज्ञा दिएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूले जेन–जीलाई आन्दोलनकारी भनेर पुरानो भाषा प्रयोग गर्न नचाहेको बताएका हुन् । जेन–जी आन्दोलनको उपलब्धीलाई रक्षा गर्दै देशलाई सही दिशा दिएर अब अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

‘हामीजस्ता पुराना पुस्ताले पनि जेन–जी युवालाई हार्दिक धन्यवाद दिन चाहन्छौं । अब म यी युवालाई आन्दोलनकारी भनेर पुरानो भाषा पनि प्रयोग गर्न चाहन्न । यी परिवर्तनकारी युवा हुन् । यो देशलाई सही दिशा दिएर अबको दिनमा स्वच्छ, निष्पक्ष, जेन–जीको चाहना र आकांक्षालाई लिएर अगाडि बढ्ने कार्यकारी प्रधानमन्त्री नियुक्त गर्नु जरुरी छ,’– उनले भने ।

एकदमै संयमित भएर जेन–जी पुस्ताको चाहनाअनुसार अगाडि बढ्ने वातावरण बनाउन आवश्यक भएको उनले बताए । जेन–जीले प्राप्त गरेका उपलब्धी खेर नजाओस् भनेर सही तरिकाबाट जेन–जीका नेताहरु, राष्ट्रपति र सेनाका व्यक्तिहरु बसेर शान्तिपूर्ण वार्ता आवश्यक रहेको उनको भनाइ छ । उनले जेन–जीहरुले दुई दिनमा नै ऐतिहासिक उपलब्धी हासिल गरेको बताए । यस्तो प्रकारको उपलब्धी माओवादीले १० वर्षे जनयुद्ध र जनआन्दोलनबाट पनि ल्याउन नसकेको उनको भनाइ छ ।