‘जेन-जी’ ले नै मुलुकको नेतृत्व लिने हिम्मत गर्नुपर्छः पूर्ण बस्नेत


काठमाडौं, २६ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जेन–जी पुस्ताबाटै मुलुकको नेतृत्व लिने हिम्मत गर्न आग्रह गरेका छन् । युगान्तकारी आन्दोलनको नेतृत्व लिएका जेन–जीलाई नेतृत्व बनेर आउन र त्यसभन्दा बाहिर गएर नेतृत्व नछान्न बस्नेतले सुझाव दिएका हुन् ।

बस्नेतले भनेका छन्, ‘जेन–जी साथीहरु, राजनीतिक दलहरुमाथि तपाईहरुको प्रहार निर्मम मात्र छैन जोखिमयुक्त पनि छ । होसियार रहनूस् । तपाईहरुको क्रान्ति प्रतिक्रान्तिमा बदलिन सक्छ, सचेत रहनूस् । संविधान, निर्वाचन प्रणाली, शासकीय स्वरुप, संसद, सरकार, न्यायालय, संवैधानिक निकायलगायतका संरचना र अंगहरुमा परिवर्तन र सुधारका लागि आवश्यक ठोस कदम चाल्नूहोस् ।’

बस्नेतले जेन–जीलाई निषेधको राजनीति हैन वृहत्तर समझदारी र सहमतिलाई आत्मसात गर्न सुझाव दिएका छन् । उनले कांग्रेस–कम्युनिष्टको सिन्डीकेटले मुलुकको आज यो दुर्दशा भएको भन्दै जेनजीलाई उही गल्ती नदोहर्याउन आग्रह गरेका छन् ।

‘जेनजी साथीहरु, अब तपाईहरुको काँधमा भयंकर ठूलो जिम्मेवारी आइलागेको छ । तर दुखको कुरा तपाईहरुबीच आफैमा नेतृत्वको चूनौति देखिएको छ । आफैबीच नेतृत्व छान्न यति सकस भइरहदा यो सिंगो मुलुकको नेतृत्व कसरी गर्नुहोला म चिन्तित भएको छु,’– उनले भनेका छन् ।

आन्दोलनको क्रममा विध्वंशमा संलग्न जोसुकै भएपनि कारबाही हुनुपर्ने उनको भनाइ छ । मानवीय र भौतिक संरचनामा भएको क्षतीप्रति उनले दुःख व्यक्त गरेका छन् ।