सुरक्षा अपडेटः बनेपामा फेला परेको ८ वटा बम डिस्पोज


काठमाडौं, २६ भदौ । काभ्रेपलान्चोकको बनेपा–९ नयाँ बस्तीमा फेला परेको ८ वटा सकेट बमलाई नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको छ ।

त्यसैगरी, सुन्धरास्थित केन्द्रीय कारागारबाट भागेका ४ जना कैदीबन्दी, डोटीको दिपायल सिलगढीस्थित बाल सुधार गृहबाट भागेका ३ जना बालबन्दीहरु, धादिङ्गस्थित गजुरीमा रहेको धादिङ्ग कारागारबाट भागेका ३९ जना कैदीहरु र बाँकेको डडुवास्थित जयन्दु बालसुधार गृहबाट फरार भएका १६ जना बालबन्दीहरु नियन्त्रणमा लिइएको सेनाले जनाएको छ ।

त्यस्तै, बाँकेको नेपालगञ्जस्थित जिल्ला कारागारमा होहल्ला तथा आगजनी गरी बाहिर निस्कन खोजेका कैदीबन्दीहरुलाई सेनाले नियन्त्रणमा लिएको र सो क्रममा १ जना कैदी घाइते भएको बताइएको छ ।

त्यस्तै, ललितपुरको भैसेपाटी इलाकामा रहेको स्थानीय प्रहरी चौकी स्थानीय व्यक्तिहरुद्वारा सरसफाई गरी कार्यरत प्रहरीहरुलाई स्वागत गरेको पनि बताइएको छ । सेनाले हालसम्म विभिन्न स्थानबाट ९७ नाल हतियारहरू बरामद भएको बताएको छ ।