काठमाडौं, २७ भदौ । वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा.सुरेन्द्र भण्डारीले नेपालको संविधानबाटै निकास खोज्दा पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा सरकार बन्न नसक्ने दाबी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालको संविधानको धारा १३२ ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा न्यायाधीश भएको व्यक्ति मानवअधिकार आयोगमा बाहेक अन्य कुनै पनि सार्वजनिक पदमा बस्न नपाउने व्यवस्था गरेको र राष्ट्रपति, प्रधानमन्त्रीलगायतका पद सार्वजनिक पद रहेको बताएका हुन् ।
‘म यो संविधानभित्रबाट निकास खोज्छु भन्नुहुन्छ भने सुशिला कार्कीजीको अध्यक्षतामा सरकार बन्न सक्दैन । संविधानको धारा १३२ ले नै सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा न्यायाधीश भएको व्यक्ति मानवअधिकार आयोगमा बाहेक अन्य कुनै पनि सार्वजनिक पदमा बस्न पाउँदैन । राष्ट्रपति, प्रधानमन्त्रीको पद भनेको सार्वजनिक पद हो । यो संविधानभित्रबाट कुरा गर्नुहुन्छ भने उहाँ यसको अध्यक्षता वा प्रधानमन्त्रित्व केही नै सक्नुहुन्न,’– उनले भने ।
त्यस्तै, तत्कालीन अन्तरिम सरकारका अध्यक्ष खिलराज रेग्मीको मुद्दामा निर्णय गर्ने न्यायाधीशमध्ये कार्की पनि एक रहेको उनले बताए । कार्कीले तत्कालीन अन्तरिम सरकारका अध्यक्ष रेग्मीको मुद्दामा ‘खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाएको असंवैधानिक’ भनेर व्याख्या गरेको वरिष्ठ अधिवक्ता भण्डारीको भनाइ छ ।




प्रतिक्रिया