राष्ट्रपति वा सेनाले संसद् विघटन गर्न मिल्दैन, जेन-जीहरुको माग नै अमिल्दो छः वरिष्ठ अधिवक्ता त्रिपाठी (भिडिओसहित)


काठमाडौं, २७ भदौ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जेन–जीहरुको संसद् विघटनको माग अमिल्दो रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्रपति वा सेनाबाट संसद् विघटन हुन नसक्ने बताएका हुन् । उनले भने, ‘वार्ताको पहिलो शर्त नै संसद् विघटन भन्दाखेरी त्यो अलिकति अमिल्दो कुरा हुन्छ । जेन–जी पुस्ताको भावनालाई सम्बोधन गर्नलाई पनि संसद्मा त सबै खराब छैनन् नि । हामी जाने त निर्वाचनमा हो । अन्तरिम सरकार जब बन्छ, अन्तरिम सरकारले संसद् विघटनको लागि सिफारिस गर्छ नि । संसद् राष्ट्रपति वा सेनाले भंग गर्न मिल्दैन ।’

साथै, वरिष्ठ अधिवक्ता त्रिपाठीले अन्तरिम सरकारको अध्यक्षका लागि पूर्व प्रधानन्यायाधीश सुशिला कार्की जत्तिको अनुहार अर्को नरहेको पनि बताए । अहिलेृ जेन–जीले पनि कार्कीलाई समर्थन गरेको र संविधानको कमा, फुलिस्टप हेरेर मात्रै समाधान निस्किन नसक्ने उनको भनाइ छ । मुलुकलाई सरकारविहीनताको बन्धक बनाउन नहुने भन्दै उनले ढिलोमा आज बेलुकासम्म सरकार गठनको सन्दर्भमा निष्कर्षमा पुगिसक्नुपर्ने बताए ।

‘उहाँ जतिको अनुहार पनि अहिले छैन । उहाँ जत्तिको अरु कसैले समर्थन पनि प्राप्त गरेको छैन । ‘जेन–जी’ ले पनि उहाँलाई नै समर्थन गरेको छ । अहिले जेन–जीले स्वामित्व ग्रहण नगरेको समाधान काम लाग्दैन । संविधानको कमा, फुलिस्टप हेरेर मात्रै समाधान हुँदैन । राष्ट्रपतिले आफ्नो पावर युज गरेर निकास दिनुपर्यो । मुलुकलाई सरकारविहीनताको बन्धक बनाउनु भएन,’– उनले भने ।