काठमाडौं, २७ भदौ । जेन–जी आन्दोलनका मृतक तथा घाइतेहरुको परिवारले संघर्ष समिति बनाएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले संघर्षसमितिबारे सार्वजनिक गरेका हुन् । उनीहरुले विभिन्न मागहरु पनि अगाडि सारेका छन् । जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका सबैलाई सहिद घोषणा गरिनुपर्ने, मृतकको राजकीय सम्मानसहित अन्त्यष्टि गरिनुपर्ने, मृतकका परिवारलाई तत्काल उचित क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ ।
त्यस्तै, मृतकहरुलाई राजकीय सम्मानका साथ शवयात्रा गराइ चक्रपथ परिक्रमा गराइनुपर्ने, मृतकको गृहजिल्लासम्म नेपाली सेनाको हेलिकोप्टरबाट शव पुर्याइनुपर्ने, गृह जिल्लामा शवयात्रा गराइनुपर्ने, मृतकका परिवारका आमाबुबा, श्रीमती र बालबालिकालाई उचित लालनपोषण, शिक्षा, रोजगारीलगायतको व्यवस्था गरिनुपर्ने उनीहरुको माग छ ।
त्यस्तै, घाइतेहरुको निःशुल्क उपचार र रोजगारीको पनि माग गरिएको छ । पूर्ण रुपले अशक्त अंगभंग भएका घाइतेहरुलाई क्षतिपूर्ति र तथा सेवा सुविधाको व्यवस्था गरिनुपर्ने उनीहरुको माग छ । त्यस्तै, गोली हान्न आदेश दिने प्रधानमन्त्री, गृहमन्त्री, प्रमुख जिल्ला अधिकारीलगायतलाई तत्काल निलम्बन गरी कारबाहीको दायरामा ल्याइनुपर्ने पनि उनीहरुको माग छ ।
त्यस्तै, अहिले नेपाली सेना र राष्ट्रपतिसँग भइरहेको वार्तामा मृतक परिवारलाई पनि समावेश गराउनुपर्ने उनीहरुको माग छ । साथै मृतक परिवारले गोली खाएर मरेकाहरु नै जेन–जीका असली लिडर रहेका बताएका छन् । ‘जेन–जीको लिडर भनेको त्यो दिन जो गोली खाएर मरेका छन्, ती हुन् जेन–जीका लिडरहरु । ती बाहेक जेन–जीको असली लिडर मृतक परिवार हुन्,’– मृतक परिवारका एक सदस्यले भने ।





प्रतिक्रिया