काठमाडौं, २७ भदौ । वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा.सुरेन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइका लागि पत्र लेख्ने गृहसचिव गोकर्णमणि दुवाडीविरुद्ध मुद्दा चलाइनुपर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै डा.भण्डारीले जेलर, प्रशासन, गृहसचिव कसैले पत्र लेख्दैमा अदालतको आदेश बदर नहुने बताए । उनले अदालतले पुर्पक्षका लागि थुनामा राख्न भनेको व्यक्तिलाई पुनः अदालतको अर्को आदेशबाहेक कसैले चिठी लेख्दैमा रिहाइ गर्न नसकिने बताए । उनले गृह सचिवलाई त्यहाँसम्मका पावर कहाँबाट आयो ? भन्दै प्रश्न गरे ।
‘अदालतको आदेश सरकारले काट्न पाउँछ ? जेलर, प्रशासन, गृहसचिव या कुनै व्यक्तिले चिठी लेख्दैमा अदालतको आदेश बदर हुन्छ ? यही हो ‘रुल अफ ल’ ? जसले चिठी लेख्यो त्यसलाई त मुद्दा चलाउनुपर्छ । अदालतले पुर्पक्षका लागि थुनामा राखेको व्यक्तिलाई अदालतको आदेशबाहेक, त्यो आदेश बदर हुनुपर्छ, त्यो बाहेक अन्य कसैले पनि, प्रधानन्यायाधीशले भनेर पनि हुँदैन । गृहसचिव को हो त्यो पत्र लेख्ने ? कहाँबाट पावर आयो त्यो गृहसचिवलाई ? उसले त गैरकानुनी काम गरिराखेको छ । उनी कानूनको दायरामा आउनुपर्छ,’– उनले भने ।
सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने जेन–जी आन्दोलनका क्रममा सुरक्षा चुनौतिको कारण भन्दै गत भदौ २४ गते रिहा भएका थिए । रिहा भएपछि जारी गरेको भिडियो सन्देशमा लामिछानेले आफू गृहसचिवको आदेशमा रिहा भएको बताएका थिए । वरिष्ठ अधिवक्ता डा.भण्डारीले जेलबाट बाहिर आएका सबैलाई सूचना जारी गरेर जेलमा आउ भन्नुपर्ने र यदि नमानेको खण्डमा भगौडाको रुपमा पनि सजाय गरिनुपर्ने बताए ।
‘जेलबाट जो–जो मान्छेहरु बाहिर आए, सबैलाई तत्काल सूचना जारी गरेर जेलमा आउ भन्नुपर्छ । जेलमा आएनन् भने उनीहरुमाथि भगौडाको रुपमा पनि सजाय गरिनुपर्छ,’– उनले भने ।




प्रतिक्रिया