नेताहरुको सम्पत्ति छानविन गरी राष्ट्रियकरण गरौंः ऋषि धमला


काठमाडौं, २८ भदौ । रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले नेताहरुको सम्पत्ति छानविन गरी राष्ट्रियकरण गरिनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेताहरुको सम्पत्ति छानविन गरी गलत गरहेकाहरुलाई जेल हाल्नुपर्ने बताएका हुन् ।

‘हाम्रो देशका नेताहरुको सम्पत्ति कति छ ? पहिला छानविन गरौं, राष्ट्रियकरण गरौं र देशमा विकास गरौं । भ्रष्ट नेताहरुलाई विधि, प्रक्रिया र कानूनी रुपमा अनुसन्धान गरेर जेलमा राखौं,’– उनले भने ।

साथै, उनले जेन–जी आन्दोलनले २८ घण्टामा नै सरकार परिवर्तन गरेर चमत्कार नै गरेको बताए । जेन–जी आन्दोलनलाई विश्वले स्यालुट गरेको उनको भनाइ छ । उनले भने, ‘नेपालमा चमत्कार नै भयो । २८ घण्टामा सरकार परिवर्तन भयो । विश्वले नेपाली जनतालाई स्यालुट गर्यो । हिजो सुशिला कार्की प्रधानमन्त्री बन्नेबित्तिकै सबैले स्वागत गरे । यो नेपाल र नेपालीको लागि खुसीको कुरा हो ।’

साथै, उनले अबको १० वर्षमा नेपाललाई सम्पन्न र विकसित राष्ट्र बनाउनुपर्ने बताए ।