श्रम संस्कृतिको अभियानमा जोडिन जेन-जीहरुको आह्वान


काठमाडौं, २८ भदौ । जेन–जी अभियन्ताहरुले पुनर्निर्माणको चरणलाई श्रम संस्कृतिसँग जोड्न आह्वान गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रममा जेन–जी अभियानका अभियन्ता केपी खनालले जेन–जीहरु शान्तिपूर्ण र पुनर्निर्माणको लागि प्रतिवद्ध रहेको बताए । उनले जेन–जीको मूलभूत आचरण विध्वंशकारी नरहेको बताए ।

‘पुनर्निर्माणको चरणलाई श्रम संस्कृतितर्फ जोड्नका लागि आह्वान गर्न आएका हौं । अबको जेन–जीको अगुवाइमा राज्यका विभिन्न पक्षहरुसँग समन्वय गर्दै हामी अगाडि बढ्ने छौं,’– उनले भने ।

भ्रष्टाचारको अन्त्य र सुशासनका लागि जेन–जीले आन्दोलन गरेको र त्यसको फलस्वरुप अन्तरिम सरकार बनेको पनि उनले बताए । जेन–जी आन्दोलन खबरदारीका लागि, देशको हितमा र व्यापक सुधारका लागि रहेको पनि उनले बताए । सो क्रममा दुर्भाग्यपूर्ण घटनाहरु घटेको भन्दै उनले दुःख व्यक्त गरे ।

अब यो समाजलाई विकासको मार्गमा प्रेरित गर्न सबैसँग हातेमालो गरिने पनि उनले बताए । उनले जेन–जी पुस्तालाई श्रम संस्कृतिको अभियानमा जुट्न आग्रह गरे । ‘विभिन्न सरकारी संरचनाहरु भत्किएका छन् । त्यो ठाउँका सम्पूर्ण जेन–जी पुस्तालाई हामी अनुरोध गर्न चाहन्छौ– अब तपाईँहरु सबै जुट्नुस् र हामी आजैबाट श्रम संस्कृतिको अभियान गरौं । जेन–जीको उदाहरण दिउँ,’– उनले भने ।

त्यसैगरी जेन–जी अभियन्ता बब्लु गुप्ताले अब युवाहरुले आफ्नै देशमै रोजगारी पाउनुपर्ने र देशले काँचुली फेर्नुपर्ने बताए । जेन–जीहरुको एजेण्डा मूलतः भ्रष्टाचारविरोधी रहेको पनि उनले बताए । उनले भने, ‘हाम्रो भ्रष्टाचारविरुद्धको मुद्दा रहेको थियो । त्यो मुद्दालाई जेन–जी पुस्ताले अगाडि बढाउँदै गर्दाखेरी त्यसलाई कसरी रोक्ने ? त्यसमा हामी सबै युवाहरु मिलेर लाग्यो भने रोकिने छ ।’