जेन-जीले उठाएको माग पूरा गर्न तत्काल प्रक्रिया थाल्नुपर्छः उपसभापति गुरुङ


काठमाडौ, २८ भदौ । नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले जेन–जीले उठाएका माग पूरा गर्न तत्काल प्रक्रिया थाल्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै जेन–जीले उठाएको प्रत्यक्ष निर्वाचित कार्यकारी, भ्रष्टाचारको छानबिनलगायतका माग सम्बोधन तत्काल सम्बोधन हुनुपर्ने बताएका हुन् ।

उपसभापति गुरुङले आफूले पटकपटक २०४६ साल यता लाभको पदमा पुगेका नेता कर्मचारी सबै सम्पत्ति छानबिन गरि आयस्रोत नदेखिएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने माग उठाए पनि कार्यान्वयन हुन नसकेको बताएका छन् । ‘२०४६ साल यता लाभको पदमा पुगेकाको सम्पत्ति छानबिन गरौं र श्रोत नखुलेको सम्पत्तिको राष्ट्रियकरण गरौं भन्ने आवाज पटक–पटक उठाए । आवाजमात्रै उठाएको हैन, २०८० चैत २३ गते संसद्मा सार्वजनिक महत्वको प्रस्तावसमेत दर्ता गरेको थिएँ । तर, यसको सुनुवाइ हुन सकेन । सुनुवाइ हुन सकेको भए आज सायद यस्तो अवस्था आउने थिएन,’– उनले भनेका छन् ।

केही नेता तथा कर्मचारीहरु कमाउ धन्दामा लाग्दा देशले आज यो दुर्गती भोग्नुपरेको उनको भनाइ छ ।