‘जेन-जीले बालेन वा हर्कले देश चलाउनुपर्छ भनेका थिए, एउटा वृद्धलाई हटाएर अर्को वृद्धालाई सुम्पिए’


काठमाडौं, ३१ भदौ । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले जेन–जीहरुले ‘देश बालेन शाह वा हर्क साम्पाङले चलाउनुपर्छ’ भनेको भए पनि एउटा वृद्धलाई हटाएर अर्को वृद्धालाई ल्याएर देश सुम्पिएको बताएका छन् । धरानमा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै उनले देश चलाउने जिम्मा युवाले लिनुपर्ने आवाज आएको भए पनि त्यसको सुनुवाइ नै नभएको बताए ।

उनले विषम परिस्थितिमा देशलाई निकास दिन खोज्दा आफूलाई धेरै मानिसहरुले पदलोलुप भनेको पनि उनले बताए । ‘खिसीट्यूरी गर्नुभयो । सच्चा नेपालीहरुको साथ मलाई रहेकै छ । धेरै मानिसहरुले मलाई पदलोलुप भनेर आरोप पनि लगाउनुभयो,’– उनले भने ।

साथै, उनले को प्रधानमन्त्री वा मन्त्री बन्नेहरूको नाम दूतावासबाट पहिला नै तयार हुनेगरेको आफूले थाहा पाएको पनि उनले बताए । आफू दूतावास नधाएको कारण नै प्रधानमन्त्री नबनाइएको उनको आरोप छ । उनले आफू कुनै शक्तिकेन्द्रको गोटी नभएको पनि बताए । ‘त्यहाँ नाम लिस्ट अलरेडी रहेछ । को प्रधानमन्त्री बन्नुपर्ने, को–के बन्नुपर्ने भन्ने नाम लिस्ट अलरेडी नै रहेछ त्यहाँ,’– उनले भने ।