१०औं हजार युवाको माझ केपी ओलीलाई सार्वजनिक गर्ने एमालेको तयारी


काठमाडौं, १ असोज । निवर्तमान प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली यतिबेला सेनाको सुरक्षामा छन् । जेन–जी आन्दोलन चर्किएपछि उनलाई सेनाले ब्यारेकमा लगेर सुरक्षा दिएको थियो । ओली मात्रैलाई नभएर सेनाले पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, झलनाथ खनाललगायतलाई सेनाले ब्यारेकमा राखेर सुरक्षा दिएको थियो । देउवा र ओलीबाहेक अरु पूर्व प्रधानमन्त्रीहरु सार्वजनिक भइसकेका छन् । तर, एमाले अध्यक्ष ओली ओली र कांग्रेस सभापति देउवा भने अझै सार्वजनि भएका छैनन् ।

नेकपा (एमाले) का नेता एवं पूर्व मन्त्री महेश बस्नेतले एमाले अध्यक्ष अ‍ोलीलाई अबको ३ दिनभित्र शानदार ढंगले सार्वजनिक गरिने बताए । ओलीले राष्ट्रको गौरव राख्ने काम गरेको र हिनता बोध गर्नुपर्ने केही काम नगरेको नेता बस्नेतको दाबी छ ।

‘बढीमा तीन दिनभित्र हामी उहाँलाई शानदार ढंगले, पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली शानदार ढंगले देखिने गरेर १०औं हजार युवाहरुले स्वागत गर्ने गरेर देखिनुहुन्छ । १०औं हजार मान्छेले स्वागत गर्छन्,’– उनले भने ।

यसअघि पनि प्रधानमन्त्रीबाट फिर्ता हुँदा ओली बाजागाजा र र्‍यालीसहित बालकोट फर्किएका थिए । यद्यपि अहिले उनी बालकोट निवास फर्किने अवस्था भने छैन । जेन–जी आन्दोलनका क्रममा उनको बालकोटस्थित निवास जलेर ध्वस्त भएको छ ।