काठमाडौं, २ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन–जी आन्दोलनलाई माओवादी जनक्रान्तिले सम्झौताको टेबलबाट पूरा गर्न नसकेका एजेण्डाहरुको अभिव्यक्तिको रुपमा चित्रण गरेका छन् । संविधान दिवसको अवसरमा आज (बिहीबार) भिडियो सन्देश जारी गर्दै उनले आफ्नो लागि जेन–जी आन्दोलन माओवादी जनक्रान्तिले सम्झौताको टेबलबाट पूरा गर्न नसकेको एजेण्डाको अभिव्यक्ति रहेको बताएका हुन् ।
उनले भनेका छन्, ‘संसद विघटनको विधि र प्रक्रियामा असहमत हुँदाहुँदै पनि अन्तरिम सरकारको नेतृत्वका लागि राष्ट्रपतिज्यूसँग सहजीकरणमा प्रचण्ड र माओवादी केन्द्रको के कस्तो भूमिका रह्यो त्यो सबैमा स्पष्ट नै छ । म यत्ति भन्छु, मेरा लागि जेन–जी आन्दोलन माओवादी जनक्रान्तिले सम्झौताको टेवलबाट पूरा गर्न नसकेका एजेण्डाहरुकै अभिव्यक्ति हो ।’
जेन–जी आन्दोलनको बलमा त्यही संसद्बाट प्रत्यक्ष निर्वाचित कार्यकारी हुने शासकीय स्वरुपमा जाने गरी र देशका अरु आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने सम्भावना रहँदा रहँदै पनि संसद् विघटन गरिएको उनको धारणा छ । आज जेन–जी आन्दोलनको उपलब्धि केवल अन्तरिम सरकार र निर्वाचनको घोषणामा सीमित भएको उनले उल्लेख गरेका छन् । शासकीय स्वरुप नै बदल्ने र इतिहास रच्ने मौका जेन–जी आन्दोलनले गुमाएको प्रचण्डको ठहर छ ।
जेन–जी आन्दोलन लोकतन्त्रविरोधी नरहेको उनको बुझाइ छ । जेन–जी आन्दोलन यथास्थिति र तदर्थवादी शासन प्रणालीको विरोधी र उन्नत लोकतन्त्रको पक्षधर रहेको उनको भनाइ छ । त्यति हुँदाहुँदै २३ भदौको आन्दोलन वास्तविक जेन–जीहरुको रहेको र जसलाई सरकारले क्रूर नरसंहारमा परिणत गरेको उनले बताएका छन् । त्यसबाट आन्दोलनकारीहरुमा सरकारप्रति चरम आक्रोश देखिनुलाई उनले स्वभाविक भनेका छन् ।




प्रतिक्रिया