काठमाडौं, ६ असोज । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले कामको आधारमा वर्तमान सरकारको समर्थन र विरोध गरिने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जेन–जीले उठाएका मुद्दाहरु सही ढंगले समाधान गर्नका लागि सरकारले भूमिका खेल्नुपर्ने बताएका हुन् । साथै, उनले चुनाव तोकिएकै मितिमा हुनुपर्ने र अर्को कुनै पनि विकल्प नरहेको बताए ।
‘अर्को कुनै पनि विकल्प छैन, चुनाव तोकिएकै मितिमा हुनुपर्छ । चुनाव भनेको आवधिक रुपमा घोषित भइसकेपछि जनताले मत प्रकट गर्ने कुरा लोकतन्त्रको उच्चतम प्रणाली हो । यो प्रणालीभन्दा अर्कोतिर यो सरकार जानै सक्दैन । सरकारले जनताको भावनाअनुसार काम गर्नुपर्यो नि । हामी साइडमा छौं अहिले । सहयोग गर्ने भनेका छौं । विरोध गरेका छैनौं । कानूनी राज्यको शून्यता नहोस् भन्ने हामीले उठाएका छौं,’– उनले भने ।
साथै, उनले दलहरुलाई कु गरेर प्रतिशोध साँध्नेतर्फ गइएको खण्डमा चुनाव नहुने बताए । दलहरुसित समझदारी, सल्लाह र सहकार्य गरेर चुनावमा सहजतापूर्वक भाग लिने वातावरण बनाइनुपर्ने उनले भनाइ छ । आफूहरु चुनावको विरोधी नरहेको पनि उनले प्रष्ट पारे । अहिलेको गतिविधि चुनाव गर्नको निम्ति भन्दा पनि जेन–जीको भावनामा खेलेर अर्कै प्रकारको खेल, गतिविधि र क्रियाकलापहरु अगाडि बढेको उनको आरोप छ । जेन–जी युवाहरुको चाहना संविधान र संसद् फाल्ने, दलहरुलाई कु गर्ने, देशका ऐतिहासिक धरोहरहरु ध्वस्त गर्ने नरहेको उनले बताए । अब देश चुनावतिर भन्दा पनि अस्थिरता र अराजकतातिर जाने खतरा रहेको पनि उनले बताए ।




प्रतिक्रिया