काठमाडौं, ६ असोज । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले जेन–जी आन्दोलन नेपालको इतिहासमा सबैभन्दा ठूलो आन्दोलन भए पनि सम्झौतामै सकिएको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले २००७ सालको आन्दोलन, ०४६ सालको आन्दोलन र २०६२/०६३ को आन्दोलन जस्तै जेन–जी आन्दोलन पनि सम्झौतामै समाप्त भएको र यसले कही थान मानिसहरुलाई मन्त्री बनाउने भन्दा बाहेक अरु केही गर्न नसक्ने बताए ।
‘नेपालको आन्दोलनको इतिहासमा सबैभन्दा ठूला आन्दोलन जेन–जी आन्दोलन हो । तर, नेपालको सबै आन्दोलन सम्झौतामा समाप्त भए । २००७ सालको आन्दोलन सम्झौतामा समाप्त भयो, हाम्रो कोशी नदी गयो । २०४६ सालको आन्दोलन सम्झौतामा समाप्त भयो । हाम्रो महाकाली नदी र टनकपुर गयो । २०६२/०६३ सालको आन्दोलन सम्झौतामा समाप्त भयो । हाम्रा नेपालका जलस्रोत कुनै पनि रहेनन् । अब अहिलेको आन्दोलन पनि सम्झौतामा टुङ्गियो । हरेक आन्दोलनमा व्यवस्था परिवर्तन भयो । सबैभन्दा ठूलो आन्दोलनमा यो काम नलाग्ने व्यवस्था किन परिवर्तन भएन ? यही थियो त जनताको माग ?’ प्रश्न गर्दै उनले भने ।
वरिष्ठ अधिवक्ता नेउपानेले लोकतन्त्रको अनुहार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा राखेको सुन र पैसा, प्रचण्डको घरमा भएको ढिकुटी र केपी शर्मा ओलीको घरमाा भएको सुनको हात्तिले देखाएको उनले बताए । जेन–जी आन्दोलन हाइज्याक भएको उनको दाबी छ ।
‘यो आन्दोलन हाइज्याक भयो । यत्तिका लागि होइन । अब फागुन २१ गते निर्वाचन हुन्छ । केपी शर्मा ओली, शेरबहादुर देउवा, प्रचण्डले जित्छन् । हात्ति आयो, हात्ति आयो फुस्स । के भयो त ? एनजीओ चलाउने मान्छेहरु मन्त्री भए,’– उनले भने ।
वरिष्ठ अधिवक्ता नेउपानेले २०६२/०६३ पछिको राज्य प्रणाली तासको घरजस्तो भएको टिप्पणी गरे । साथै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सिंहदरबार जल्दैछ भन्ने कुरा एक हप्ता अगाडि नै जानकारी रहेको उनको दाबी छ । वरिष्ठ अधिवक्ता नेउपानेले जेन–जी आन्दोलनका क्रममा काठमाडौं महानगरपालिका र त्यसका प्रमुख बालेन्द्र शाहको भूमिकामाथि पनि प्रश्न उठाए ।
‘पुष्पकमल दाहाललाई एक हप्ता अगाडि सिंहदरबार डढ्दैछ भन्ने कसरी थाहा भयो ? यहाँ ठूल–ठूला घटना घट्दैछन्, केपी शर्मा ओलीले सरकार छाड्दैछन् भन्ने कसरी थाहा भयो ? अनि बालेनले सिंहदरबार डढाइदिन्छु भनेको किन सिंहदरबार डढ्यो ? यत्रो आगजनी हुँदा नगरपालिकाका दमकल किन आउँदैनन् ? आन्दोलनकारी पनि एउटै, दमकलको मालिक पनि एउटै । उहाँहरुलाई यो देश समाप्त पार्नुथियो,’– उनले भने ।




प्रतिक्रिया