काठमाडौँ । २०३६ सालमा रेडियो नेपालमा रेकर्ड भई प्रथम पुरस्कार जित्न सफल भएको चर्चित गीत ‘सिन्धुलीगढी घुमेर हेर्दा’ ४६ वर्षपछि नयाँ रूप र स्वरमा पुनः सार्वजनिक भएको छ। स्वर्गीय कृष्णविक्रम थापाले शब्द, संगीत र स्वर दिएको यो कालजयी सिर्जनालाई अहिले उनका ज्येष्ठ पुत्र राजु थापाले आफ्नै आवाजमा पुनः रेकर्ड गराएका हुन्।
सिन्धुलीको ऐतिहासिक र सांगीतिक पहिचान बोकेको यस गीतको भिडियो छायांकन पनि सिन्धुली जिल्लाकै रमणीय स्थानहरूमा गरिएको छ। भिडियोमा रमेश विश्वकर्मा र दीप्सा कार्की मुख्य भूमिकामा देखिएका छन् भने पवन केसी, सत्य देवी, पवित्रा रम्तेल र काजी थापाले सहायक भूमिका निभाएका छन्।
गीतका आकर्षक दृश्यहरूलाई छायांकनकर्ता बासु बरालले क्यामेरामा उतारेका छन्। भिडियो निर्देशन निर्देशक क्रान्ति केसीले गरेका हुन्। चार दशकभन्दा लामो अन्तरालपछि पुनर्जीवित यस गीतले नयाँ पुस्तालाई सिन्धुलीको सांगीतिक धरोहरसँग फेरि नजिक ल्याउने अपेक्षा गरिएको छ।




प्रतिक्रिया