राज्यसँग छैनन् जहाज, सहुलियत दरमा उडाउन मान्दैनन् निजी कम्पनी


काठमाडौं, असोज ८ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एकतर्फी यात्रुको चाप भएको दशैँको बेलामा हवाई टिकटको मूल्य नबढेको दाबी गरेको छ । प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भूलले पछिल्लो नौ बर्षदेखि हवाई भाडा नबढेको बताउँदै हवाई कम्पनीहरूले सरकारले तोकेको माथिल्लो सीमामा रहेर टिकटदर कायम राखेको दाबी गरे।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने “प्राधिकरणले हवाई भाडा नियमन सम्बन्धी निर्देशिका २०७३ मार्फत ट्रङ्क, टूरिस्ट र स्टोल गरी तीन समूहमा विभाजन गरी हवाई भाडा तोक्ने गरेको छ । सबै वायुसेवा कम्पनीहरूको भाडादर अनुसार भाडा लिन्छन्, यदि त्यो भन्दा बढी उठाएको वा तोकिएको भाडादरभन्दा बढी उठाएको पाइएमा हामीले कारबाही गर्छौं । यात्रुहरूले के बुझ्नुपर्‍यो भने अन्य समयमा न्यूनतम भाडामा उडान भइरहेको हुन्छ । यात्रुको बढी चाप पर्ने दशैँतिहार लगायत चाडपर्वका बेला तोकिएको उच्चतम भाडादरमा उडान हुने गर्दछ ।’

जहाज र सिटको सङ्ख्या उस्तै हुने तर यात्रुको सङ्ख्या दोब्बरले बढ्ने अहिलेको समयमा सिट क्षमताका आधारणमा हवाई भाडा थपघट हुने गरेको उनको भनाई छ ।

सरकारसँग वायुयान नहुँदा निजी क्षेत्रसँग प्रतिस्पर्धा हुन नसकेको बताउँदै उनले तोकिएको भाडामा इन्धनको मूल्यअनुसार ‘सरचार्ज’ पनि जोडिने र नीजि कम्पनी प्रतिस्पर्धामा आउन नपरेपछि हवाई भाडा महङ्गो हुने गरेको उनले बताए ।

‘अन्य समयमा हवाई यात्रा गर्ने यात्रु पनि कम हुने र यात्रु आकर्षण गर्नकै लागि पनि कम्पनीहरूले न्यूनतम भाडामा उडान भर्ने गर्छन् । तर, अहिले त यात्रुको चाप नै बढी हुने गर्छ । ‘अहिले एउटा यात्रु नगए अर्को जान्छ भन्ने हुन्छ, त्यसकारण पनि भाडा उच्चतम नै रहने गर्छ।’ उनले भने ।

प्राधिकरणको आग्रह अनुसार गतवर्ष असोज दोस्रो साताको प्राकृतिक विपतको समयमा हवाई कम्पनीले सहुलियत दरमा यात्रु उडाएका जानकारी दिदै यसवर्ष पनि देशमा विषम परिस्थितिलाई हेरेर प्राधिकरणले हवाई कम्पनीलाई आग्रह गरेपनि कानुन अनुसार वायुसेवा कम्पनीलाई तोकेको दर भन्दा हवाई शूल्क कम गर्न नचाहेको उनको भनाई छ ।

जनतालाई सहुलियत दरमा हवाई टिकट उपलब्ध गराउन सरकारले नै हवाई यातायातमा १३ प्रतिशत भ्याट छुट, हवाई इन्धनमा छुट दिए हवाई भाडा स्वत सस्तो हुँदै जाने उनले बताए । दशैँ, तिहारको समयमा जहाज पूर्ण क्षमतामा उडान भरिरहेका कारण उपलब्ध सिट सङ्ख्या कम हुँदै गएपनि हवाई टिकटको मूल्य बढ्ने गरेको भूले जानकारी दिए । जहाज र सिटको सङ्ख्या उस्तै हुने तर यात्रुको सङ्ख्या दोब्बरले बढ्ने अहिलेको समयमा सरकारसँग वायुयान नहुँदा नीजि क्षेत्रसँग प्रतिस्पर्धा हुन नसकेको उनको भनाई छ ।

अहिले नेपालको सबै सुगम गन्तव्य नीजि हवाई कम्पनीको नियन्त्रणमा रहेकाले दुर्गमका यात्रुलाई समेत सरकारले सुविधान दिन नसकेको उनले बताए । दशैँको मुखमा सडक यातायात अवरुद्ध हुँदा आवतजावतमा समस्या परिरहेको बेला वैकल्पिक साधन हवाई यातायातमा समेत हवाई कम्पनीहरुले मनलाग्दी भाडा लिएको भन्दै जनआक्रोस बढ्दै गएको देखिन्छ ।

कतिपय गन्तव्यमा टिकट पाउन मुस्किल रहेको अहिलेको समयमा प्राय सबै हवाई कम्पनीको भाडादर एउटै हुने गरेको छ । पछिल्लो केही समयदेखि अनलाइन प्लेटफर्ममा टिकट खोज्दा विभिन्न कम्पनीको भाडादर एउटै भेटिने गरेको छ। यो संयोग मात्रै नभएर आन्तरिक हवाई सेवा कम्पनीले आपसी मिलेमतोमा भाडादर निर्धारण गर्न थालेकाले यस्तो अवस्था आएको हो।
नियमन निकाय कमजोर रहेको फाइदा उठाउँदै हवाई कम्पनीले पछिल्लो समयमा कार्टेलिङ गरिरहेको गुनासो बढ्दै गएको छ ।